रसुवा, १८ कात्तिक । भोटेकोशी बाढीका कारण लामो समय सुनसान बनेका रसुवाका प्रमुख पर्यटकीय गन्तव्य लाङटाङ र धार्मिकस्थल गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्न थालेको छ। सडक तथा पदमार्गमा सुधार भएसँगै जिल्लाको पर्यटन व्यवसाय विस्तारै पुरानै लयमा फर्किन थालेको हो।
गत भदौ १० गते आएको बाढीले करिब दुई महिनासम्म जिल्लाको पर्यटन गतिविधि प्रभावित बनेको थियो। लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार वेत्रावतीमा बेलिब्रिज निर्माण गरी सडक सञ्जाल पुनः सञ्चालनमा आएपछि पर्यटक आगमन बढ्न थालेको हो।
पर्यटन तथा होटल व्यवसायी संघ रसुवाका अध्यक्ष विशाल घलेले लाङटाङ र गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन उत्साहजनक रूपमा सुरु भएको बताएका छन्। सडक र पदमार्ग सहज बनेपछि पर्यटक निर्धक्क भएर गन्तव्यतर्फ जान थालेका उनको भनाइ छ।
गोसाइँकुण्ड मार्गका होटल व्यवसायी पासाङ ध्युमीले बाटो खुलेसँगै पर्यटकको चहलपहल बढ्दा व्यवसायीमा आशा पलाएको बताएका छन्। त्यस्तै, लाङटाङ भ्रमणमा पुगेका नुवाकोटको नर्जाकी शारदा खनाल र उनका छोराले पनि बाटो सहज र सुरक्षित रहेको अनुभव सुनाएका छन्।
स्थानीय होटल व्यवसायी निमा लामाले लामो समयपछि पर्यटक आउन थालेकामा खुसी व्यक्त गर्दै पर्यटन व्यवसाय पुनः चलायमान हुने विश्वास व्यक्त गरेका छन्। पर्यटन व्यवसायी डिण्डुप तामाङका अनुसार हिमनदी र क्याङजेन क्षेत्रका मनोरम दृश्यले पर्यटकलाई आकर्षित गरिरहेका छन्।
शरद ऋतुको पर्यटकीय याम सुरु हुनु र मौसममा सुधार आउनुले पनि रसुवाका पर्यटकीय क्षेत्रमा चहलपहल बढाएको छ। पछिल्लो समय लाङटाङ र गोसाइँकुण्ड पदयात्रा युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको छ।
पदमार्ग सुरक्षित र आवागमन सहज भएसँगै बाढीबाट प्रभावित जिल्लाको पर्यटन उद्योगले पुनः गति लिने अपेक्षा पर्यटन व्यवसायीले गरेका छन्।




.gif)





