काठमाडौँ, १७ कात्तिक । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता तथा ग्राहक संरक्षणसम्बन्धी सचेतना फैलाउने उद्देश्यले २०८३ कात्तिक १७ गते मंगलबार वित्तीय चेतनामूलक सन्देश जारी गरेको छ।
उक्त सन्देशमा सर्वसाधारणलाई ऋण लिँदा विशेष सावधानी अपनाउन, आफ्नो आम्दानी र ऋण तिर्न सक्ने क्षमताको मूल्याङ्कन गर्न तथा बैंक तथा वित्तीय संस्थाबाट उपलब्ध सेवाबारे जानकारी लिएर मात्र वित्तीय निर्णय गर्न आग्रह गरिएको छ।
नेपाल राष्ट्र बैंकले जारी गरेको सन्देशमा ऋण लिने प्रक्रिया, कर्जा छनोट, ब्याजदर, धितो, कर्जाको सदुपयोग, भुक्तानी तथा गुनासो व्यवस्थापनका विषयलाई प्राथमिकता दिइएको छ।
ऋण लिनुअघि यी विषयमा ध्यान दिन राष्ट्र बैंकको सुझाव
राष्ट्र बैंकले ऋण लिनुअघि आफ्नो आम्दानी, खर्च, सम्पत्ति तथा दायित्वको अवस्था मूल्याङ्कन गर्न आग्रह गरेको छ। ऋणले भविष्यमा खर्च गर्न सक्ने आम्दानी घटाउने भएकाले ऋण र आम्दानीको अनुपात (Debt Service to Income Ratio) समीक्षा गरेर मात्र कर्जा लिनुपर्ने सन्देशमा उल्लेख छ।
त्यस्तै, पहिले लिएको ऋण वा बाँकी दायित्व कम गर्न अर्को नयाँ ऋण लिँदा अत्यधिक ऋणको जोखिम बढ्न सक्ने भएकाले सचेत हुनुपर्नेमा जोड दिइएको छ।
कर्जा छनोट गर्दा ब्याजदर र सर्त तुलना गर्न आग्रह
बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा ब्याजदर, शुल्क, प्रक्रिया, अवधि तथा अन्य सर्तहरूको तुलना गरेर उपयुक्त कर्जा छनोट गर्न राष्ट्र बैंकले सुझाव दिएको छ।
विशेषगरी स्थिर तथा परिवर्तनशील ब्याजदर, आधार दर (Base Rate) र प्रिमियममा हुने परिवर्तनले ब्याजदरमा पार्ने प्रभाव बुझ्नुपर्ने उल्लेख गरिएको छ। कर्जाको सम्झौतापत्रमा हस्ताक्षर गर्नुअघि भुक्तानी अवधि, किस्ता, जरिवाना तथा अन्य शुल्कबारे स्पष्ट जानकारी लिनसमेत आग्रह गरिएको छ।
कर्जाको सदुपयोग र समयमै भुक्तानी गर्नुपर्ने
जुन उद्देश्यका लागि कर्जा लिइएको हो, सोही प्रयोजनमा रकम प्रयोग गर्न राष्ट्र बैंकले सचेत गराएको छ। कर्जा प्रयोग गर्दा आम्दानी घट्न सक्ने सम्भावित जोखिमलाई पनि ध्यानमा राख्नुपर्ने सन्देशमा उल्लेख छ।
कर्जासँग सम्बन्धित खर्चहरू पहिचान गर्ने, भुक्तानी तालिकाअनुसार साँवा तथा ब्याज समयमै तिर्ने र समयअगावै कर्जा चुक्ता गर्दा लाग्ने शुल्कबारे जानकारी लिने विषयलाई पनि महत्वपूर्ण मानिएको छ।
बैंकिङ सेवामा समस्या भए गुनासो गर्न सकिने
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सेवासम्बन्धी सम्पूर्ण जानकारी निरन्तर लिन, समस्याबारे सम्बन्धित निकायसँग परामर्श गर्न र आफ्ना अधिकार तथा दायित्वबारे सचेत रहन आग्रह गरेको छ।
बैंक तथा वित्तीय संस्थाबाट प्राप्त सेवामा समस्या वा गुनासो भए नेपाल राष्ट्र बैंकको अनलाइन पोर्टलमार्फत उजुरी दर्ता गर्न सकिने व्यवस्था रहेको छ।
गुनासो पोर्टल: www.gunaso.nrb.org.np
आधिकारिक वित्तीय साक्षरता सामग्री: नेपाल राष्ट्र बैंक
राष्ट्र बैंकको यस सन्देशले ऋण लिने निर्णय गर्दा हतार नगरी आफ्नो आर्थिक क्षमता, कर्जाको लागत, जोखिम र भुक्तानी दायित्वको समग्र मूल्याङ्कन गर्नुपर्ने सन्देश दिएको छ।
स्रोत: नेपाल राष्ट्र बैंक, वित्तीय चेतनाका लागि जारी सन्देश, २०८३ कात्तिक १७ गते।





.gif)





