म्याग्दी, १२ कात्तिक । दसैँ–तिहारको बिदा र चिसो बढेसँगै म्याग्दीको बेनी नगरपालिका–४ स्थित सिंगा तातोपानी कुण्डमा प्राकृतिक तातोपानीमा स्नान गर्न आउनेको चहलपहल बढेको छ। कुण्ड व्यवस्थापन समितिका अनुसार अहिले दैनिक ६०० देखि ७०० जनासम्म स्नानका लागि पुग्ने गरेका छन्।
ढाड दुख्ने, जोर्नी दुख्ने तथा विभिन्न शारीरिक समस्याबाट राहत मिल्ने आशामा देशका विभिन्न जिल्लाबाट मानिसहरू यहाँ आउने गरेका छन्। नवलपुरको गैँडाकोटका प्रदीप सुवेदी पनि ढाड दुख्ने समस्यामा राहत मिल्ने आशाले कुण्डमा पुगेका छन्। यसअघि आफ्नी श्रीमतीलाई स्नान गराउँदा स्वास्थ्यमा सुधार भएको अनुभवपछि आफू पनि आएको उनले बताए।
बागलुङका केशवबहादुर केसी दुर्घटनामा खुट्टा भाँचिएपछि लामो समयदेखि दुखाइको समस्या भोग्दै आएका छन्। उनी विगत १० वर्षदेखि हरेक वर्ष दसैँ–तिहारको बिदामा सात दिनका लागि कुण्डमा स्नान गर्न आउने गरेका छन्। स्नान गरेपछि दुखाइ कम हुने गरेको उनको अनुभव छ।
त्यस्तै, काठमाडौंकी राधादेवी शर्मा सन् २००६ देखि नियमित रूपमा कुण्डमा आउँदै आएकी छन्। नसा च्यापिने र कम्मर दुख्ने समस्याका कारण यहाँ आउन थालेको बताउँदै उनले स्नानपछि शरीर हलुका हुने अनुभव सुनाइन्। बागलुङकी सरिता केसीले पनि स्नानपछि दुखाइमा केही सुधार भएको र शरीरमा स्फूर्ति आएको बताइन्।
पर्वत, पाल्पा र म्याग्दीलगायत जिल्लाबाट पनि नियमित रूपमा स्नान गर्न आउने गरेका छन्। कतिपयले बाथ, नसा तथा चोटपटकपछिको दुखाइमा राहत मिलेको अनुभव सुनाउने गरेका छन्। यद्यपि, तातोपानीमा स्नान गर्दा विभिन्न रोग निको हुने वा उपचारमा प्रभावकारी हुने विषयमा वैज्ञानिक प्रमाण र चिकित्सकीय सल्लाहलाई ध्यान दिन आवश्यक छ।
दैनिक ७०० जनासम्मको चहलपहल
सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काका अनुसार दसैँपछि दैनिक ६०० देखि ७०० जनासम्म स्नान गर्न आउने गरेका छन्। विगतका वर्षमा असोज र कात्तिकमा दैनिक एक हजार ५०० जनासम्म आउने गरेको उनले बताए।
कुण्डमा एकपटकमा २५० जनासम्मले स्नान गर्न सक्छन्। महिला र पुरुषका लागि छुट्टाछुट्टै समयतालिका बनाइएको छ। व्यवस्थापन समितिका कर्मचारी रेशम कार्कीका अनुसार बिहान ५ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म समूह विभाजन गरेर स्नानको व्यवस्था मिलाइएको छ।
गत वर्ष नेपालका ७७ वटै जिल्लाका साथै विदेशबाट समेत गरी २१ हजारभन्दा बढी व्यक्ति यहाँ स्नान गर्न आएको समितिले जनाएको छ। असोजदेखि वैशाखसम्मको अवधिलाई कुण्डमा स्नान गर्ने मुख्य यामका रूपमा लिइन्छ।
म्याग्दी नदी किनारमा प्राकृतिक रूपमा निस्कने तातोपानीलाई पोखरीमा सङ्कलन गरेर स्नान गर्ने व्यवस्था मिलाइएको छ। कुण्ड व्यवस्थापन समितिका सचिव अमर केसी ९कुमार०का अनुसार यहाँको पानी करिब ५० डिग्री सेल्सियस तापक्रममा निस्कन्छ र बिरेनुनजस्तो गन्ध आउँछ।
कुण्डमा सात दिन स्नान गर्न प्रतिव्यक्ति ३५० रुपैयाँ र नौ दिनका लागि ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। प्रवेश शुल्कबाट सङ्कलित रकमको १३ प्रतिशत सरकारलाई कर र २५ प्रतिशत बेनी नगरपालिकालाई बुझाउने गरिएको समितिले जनाएको छ।
बाढीले क्षति पुर्याएपछि पुनः सञ्चालन
गत असोजमा भएको अविरल वर्षापछि आएको बाढीपहिरोले सिंगा तातोपानी कुण्डमा क्षति पुर्याएको थियो। कुण्डमा हिलो र फोहोर थुप्रिएपछि स्थानीयवासी तथा सरोकारवालाले श्रमदानमार्फत सरसफाइ र पहिरो पन्छाउने काम गरेका थिए। त्यसपछि असोज २७ गतेदेखि कुण्ड नियमित रूपमा सञ्चालनमा आएको हो।
बाढीपहिरोबाट कुण्डका भौतिक संरचनामा करिब तीन करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। छोटो अवधिका लागि आउने पाहुनाले स्नान गर्ने पोखरीमा क्षति पुगेकाले उक्त पोखरी अझै सञ्चालनमा आउन सकेको छैन।
कुण्डको संरक्षण र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि सर्वेक्षण तथा लागत अनुमान तयार गरी सरकारसँग बजेट माग गरिएको व्यवस्थापन समितिले जनाएको छ। बाढीका कारण स्नान गर्ने क्षेत्र साँघुरिएकाले व्यवस्थापनमा थप चुनौती उत्पन्न भएको छ।
होटल तथा घरबास व्यवसायमा चहलपहल
कुण्डमा स्नान गर्न देशका विभिन्न स्थानबाट पाहुना आउन थालेपछि स्थानीय होटल तथा घरबास व्यवसायमा पनि चहलपहल बढेको छ। होटल व्यवसायी समिति तातोपानीका अध्यक्ष सीता घलेका अनुसार यहाँका होटल र घरबासका कोठा पाहुनाले भरिन थालेका छन्।
उनका अनुसार तातोपानी क्षेत्रमा सानाठूला गरी २० वटा होटल सञ्चालनमा छन्। पाहुनाले होटलमा बस्नुका साथै घरका कोठा भाडामा लिएर आफैँ खाना पकाएर बस्न सक्ने व्यवस्था पनि छ।
म्याग्दी नदीमा पाइने असला माछा यहाँको विशेष परिकार मानिन्छ। प्राकृतिक तातोपानीमा स्नान गर्ने, स्थानीय वातावरणमा रमाउने र स्थानीय परिकारको स्वाद लिने अवसरले पनि पर्यटकलाई आकर्षित गरेको व्यवसायीको भनाइ छ।
प्राकृतिक तातोपानी, स्थानीय आतिथ्य र बसोबासको सुविधाले सिंगा तातोपानी कुण्डलाई म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुर्याएको छ। बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र उचित व्यवस्थापन गर्न सके यस क्षेत्रको पर्यटन तथा स्थानीय अर्थतन्त्रमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।रासस




.gif)





