काठमाडौँ। नबिल बैंक लिमिटेडले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने तयारी गरेको छ। बैंकले १० वर्षे अवधिको ऋणपत्र निष्कासनका लागि अनुमति माग्दै गत असोज २८ गते नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको हो।
बोर्डबाट स्वीकृति प्राप्त भएपछि बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता ऋणपत्र जारी गर्नेछ। उक्त ऋणपत्रमा लगानी गर्नेले वार्षिक ५।५ प्रतिशत ब्याज प्राप्त गर्नेछन्।
बैंकले निष्कासन गर्न लागेको कुल ४ अर्ब रुपैयाँमध्ये ६० प्रतिशत अर्थात् २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ। बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र भने सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत बिक्री गरिनेछ।
ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले पाएको छ। नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति प्राप्त भएपछि ऋणपत्र बिक्री प्रक्रिया अघि बढाइनेछ।
दीर्घकालीन पुँजी जुटाउने तथा वित्तीय स्रोत व्यवस्थापन गर्ने उद्देश्यले बैंकले ऋणपत्र जारी गर्न लागेको हो। ऋणपत्रको निष्कासन स्वीकृत भएपछि सर्वसाधारण तथा संस्थागत लगानीकर्ताले तोकिएको प्रक्रियाअनुसार यसमा लगानी गर्न सक्नेछन्।




.gif)





