काठमाडौँ । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमासमा खुद नाफा १६.९९ प्रतिशतले वृद्धि गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा २३ करोड ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। कर्जा असुलीमा सुधार र निष्क्रिय कर्जा व्यवस्थापनमा देखिएको प्रगतिले बैंकको नाफा बढाउन सहयोग गरेको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.४३ प्रतिशतले बढेर ६२ करोड ६४ लाख ८७ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी ७४ करोड ५८ लाख ८४ हजार रुपैयाँ र सञ्चालन नाफा ३३ करोड ८७ लाख ७० हजार रुपैयाँ रहेको छ। बैंकले खुद शुल्क तथा कमिसनबाट ११ करोड २ लाख ३६ हजार रुपैयाँ आम्दानी गरेको छ।
बैंकको निष्क्रिय कर्जा अनुपात पनि घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४.४१ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ३.९३ प्रतिशतमा झरेको छ। यससँगै सम्भावित कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम अर्थात् इम्पेयरमेन्ट चार्ज ११ करोड ६ लाख रुपैयाँबाट घटेर ४ करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ।
प्रतिशेयर आम्दानी २३ रुपैयाँभन्दा माथि
नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ। गत वर्षको पहिलो त्रैमासमा २० रुपैयाँ ४६ पैसा रहेको प्रतिशेयर आम्दानी बढेर २३ रुपैयाँ १३ पैसा पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ८४ पैसा कायम भएको छ।
पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा १५ करोड २१ लाख ६७ हजार रुपैयाँ पुगेको छ। यसका आधारमा बैंकको वार्षिक लाभांश वितरण क्षमता १५.७६ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ।
४ अर्बभन्दा बढी चुक्ता पुँजी
बैंकको चुक्ता पुँजी ४ अर्ब २१ करोड १९ लाख ३० हजार रुपैयाँ रहेको छ। त्यस्तै, बैंकको जगेडा कोषमा २ अर्ब २२ करोड ८३ लाख ८७ हजार रुपैयाँ सञ्चित छ।
खुद ब्याज आम्दानीमा सामान्य वृद्धि, निष्क्रिय कर्जा अनुपातमा सुधार तथा कर्जा नोक्सानी व्यवस्थाको खर्चमा आएको कमीले बैंकको नाफा बढाउन योगदान पुर्याएको वित्तीय विवरणले देखाएको छ। आगामी दिनमा कर्जा असुली र गुणस्तरीय कर्जा व्यवस्थापनलाई निरन्तरता दिन सके बैंकको वित्तीय अवस्था थप सुदृढ हुन सक्ने देखिन्छ।




.gif)





