काठमाडौँ, ११ कात्तिक । राष्ट्रिय समाचार समिति (रासस) सञ्चालक समितिको अध्यक्षमा नियुक्त सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव विष्णुप्रसाद कोइरालाले आज केन्द्रीय कार्यालयमा कार्यभार सम्हालेका छन् ।
उनलाई महाप्रबन्धक सन्दीप राई र विभागीय प्रमुखहरूले स्वागत गरे । पद बहालीपछि अध्यक्ष कोइरालाले राससको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको काम तदारुकाताका साथ अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
“राससको अध्यक्षको जिम्मेवारी सम्हालेको छु । सूचना नै शक्ति भएकाले राष्ट्रिय समाचार समिति ऐन, २०१९ लाई समयानुकूल परिमार्जनको प्रक्रिया प्रारम्भ गरिनेछ,” उनले भने, “हामी चाँडै सञ्चालक समितिको बैठकबाट पदपूर्तिको प्रक्रियालाई अगाडि बढाउनेछौँ ।”
यसैगरी महाप्रबन्धक राईले लामो समयदेखि सरकारका विभिन्न तहमा रहेर प्रशासनिक क्षेत्रमा अनुभवप्राप्त अध्यक्षको आगमनबाट राससको यात्रा र श्रीवृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले ६५ वर्षको गौरवपूर्ण संस्था राससले मुलुकभर सूचना प्रवाह गर्न अग्रणी भूमिका गरेको बताउँदै संस्थाको समग्र कामकाजसहित सुधारका विषयमा आगामी दिनमा छलफल गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अध्यक्ष कोइरालाले समाचार सङ्कलन, नेपाली, अङ्ग्रेजी, अन्तरराष्ट्रिय समाचार सम्पादन तथा तस्बिर शाखाको निरीक्षण गरेका छन् ।
यसअघि सञ्चालक समितिको अध्यक्ष रहेका सोही मन्त्रालयका सहसचिव डा उदयबहादुर रानामगरको रक्षा मन्त्रालयमा सरुवा भएपछि सहसचिव कोइराला राससको अध्यक्षमा नियुक्त भएका हुन ।
भोजपुरको षडानन्द नगरपालिका–४ मा जन्मिएका अध्यक्ष कोइराला दुई दशकदेखि निजामति सेवामा रहेका छन् ।




.gif)





