काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यले लामो समयदेखि बन्द रहेको एन्फा कार्यालयको ताला खोलेका छन्। नेपाली फुटबलमा देखिएको विवाद समाधान गरी खेल गतिविधि पुनः सञ्चालन गर्ने उद्देश्यले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बुधबार ललितपुरको सातदोबाटोस्थित एन्फा कार्यालयको ताला खोलिएको हो।
ताला खोलेसँगै सदस्यहरूले आगामी कात्तिक १३ गते एन्फा कार्यसमितिको बैठक बस्ने जानकारी दिएका छन्।
वरिष्ठ उपाध्यक्ष खड्काका अनुसार एन्फाको विधानबमोजिम एकतिहाइ भन्दा बढी सदस्यले बैठक बोलाउन माग गरे पनि २१ दिनसम्म बैठक आह्वान नभएपछि २२औँ दिनमा ताला खोलेर बैठक बस्ने विषयमा छलफल गरिएको हो।
बैठकमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफाले) लगाएको प्रतिबन्ध, सरकारसँगको सहकार्य तथा एन्फाका तहगत निर्वाचनमा देखिएका अवरोधलगायत विषयमा छलफल गरिने खड्काले बताउनुभयो। नेपाली फुटबल क्षेत्रमा देखिएको विवादको निकास खोज्नु बैठकको मुख्य उद्देश्य रहेको उनको भनाइ छ।
खड्काले कात्तिक १३ गते हुने बैठकमा एन्फा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिवसहित सबै कार्यसमिति सदस्यलाई उपस्थित भएर फुटबल क्षेत्रका समस्या समाधानका लागि छलफल गर्न आग्रह गरेका छन्।
उनले बैठकको उद्देश्य कसैलाई पदबाट हटाउने वा निषेध गर्ने नभई नेपाली फुटबलमा देखिएका अवरोध हटाएर निकास खोज्नु रहेको स्पष्ट पारेका छन्।
तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले प्रतिबन्ध लगाएपछि नेपाली फुटबल क्षेत्र प्रभावित बनेको छ। एन्फाभित्रको विवाद र प्रशासनिक अवरोधका कारण रोकिएका गतिविधिलाई पुनः सञ्चालनमा ल्याउने प्रयासस्वरूप सदस्यहरूले बैठक बोलाउन पहल गरेका हुन्।




.gif)





