गोरखा, १२ कात्तिक । गोरखा सदरमुकामस्थित शक्ति माध्यमिक विद्यालयमा तोडफोड गरी विद्युत् तार चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
विद्यालयमा तोडफोड भएको ११ दिनपछि बुधबार प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको जनाएको हो।
प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार दसैँको फूलपाती आसपास विद्यालय बन्द रहेको मौका छोपेर विद्यालयको पुस्तकालय, पूर्वप्रधानाध्यापकको पुरानो निवाससहित तीनवटा भवनमा तोडफोड गरिएको थियो।
तोडफोडमा संलग्न समूहले तीनवटै भवनमा बाहिरबाट जडान गरिएका विद्युत् तार चोरी गरेको प्रहरीले जनाएको छ। उनीहरूले बल्ब, मिटरबक्सलगायत विद्युत्सम्बन्धी सामग्रीसमेत तोडफोड गरी क्षति पुर्याएका थिए।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले तारमा रहेको तामाजन्य धातु चोरी गर्ने उद्देश्यले भवनको विद्युत् वायरिङ तोडफोड गरेको बयान दिएका छन्।
पक्राउ परेका व्यक्तिलाई बिहीबार म्याद थपका लागि अदालतमा उपस्थित गराइने प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिएका छन्।




.gif)





