राँझा (बाँके), ११ कात्तिक । वर्षायाममा रोकिएको जङ्गल सफारी पुनःसुरु भएसँगै बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल सुरु भएको छ । मनसुन सकिएसँगै हरियालीले सजिएको निकुञ्जका कच्ची बाटा मर्मत गरी पर्यटकका लागि जङ्गल सफारी पुनः खुला गरिएको गाभर भ्याली सामुदायिक घरबास ‘होमस्टे’का अध्यक्ष कृष्ण चौधरीले बताएका छन्।
उहाँका अनुसार, नेपालको सबैभन्दा कान्छो राष्ट्रिय निकुञ्जका रूपमा चिनिने बाँके राष्ट्रिय निकुञ्ज जैविक विविधतले भरिपूर्ण छ । यहाँ पाइने दुर्लभ र संरक्षित वन्यजन्तु ‘चौसिङ्गा’ (चारवटा सिङ भएको मृग) यस निकुञ्जको मुख्य आकर्षण हो । चौसिङ्गासँगै पाटेबाघ, हात्ती, गैँडा, चितुवा, र विभिन्न प्रजातिका चराचुरुङ्गीको अवलोकन गर्न पाउँदा यहाँ पुग्ने जो कोही रोमाञ्चित हुन्छन् ।
यसपटक पर्यटकलाई आकर्षित गर्न निकुञ्ज र स्थानीय पर्यटन व्यवसायीले विशेष छुटसहित मात्र रु एक हजारको नयाँ प्याकेज समेत सार्वजनिक गरेका छन् । जसले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन थालेको छ । योे प्याकेजले मध्यमवर्गीय र युवा पर्यटकलाई निकै आकर्षित गरेको छ । यस प्याकेजले कम खर्चमै जङ्गल सफारी र वन्यजन्तु अवलोकनको अनुभव दिलाउने चौधरीले बताएका छन्।
“वर्षातपछि जङ्गलको रूप नै फेरिएको छ । चारैतिर हरियाली र ताजा हावा छ,” गाभर भ्यालीका अध्यक्ष चौधरीले भने, “जङ्गल सफारी पुनः सुरु भएसँगै पर्यटकको आगमन बढ्न थालेको छ । हामी उहाँहरूलाई स्थानीय परिकार र संस्कृतिले स्वागत गर्न आतुर छौँ ।”
पश्चिम नेपालमा सुलभ मूल्यमा साहसिक र प्राकृतिक यात्रा गर्न चाहनेका लागि बाँके राष्ट्रिय निकुञ्ज र गाभर भ्याली अहिले उत्कृष्ट गन्तव्य बनेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी वलीले बताएका छन्।
“सहरी कोलाहलबाट मुक्त भई प्रकृति र स्थानीय संस्कृतिको नजिक पुग्न चाहने पर्यटकका लागि यो मौसम उपयुक्त अवसर हो,” उनले भने, “वर्षायामको हरियाली र ओसिलो जङ्गलको आफ्नै आकर्षण हुन्छ भने हिउँदमा जङ्गलको दृश्य, वन्यजन्तको गतिविधि नियाल्ने अवसर र खुला मौसमले सफारीलाई फरक अनुभव दिन सक्छ ।”
जीपमा बसेर जङ्गलका घुमाउरा बाटा पार गर्दै वन्यजन्तुको खोजी गर्नु, चराचुरुङ्गीको आवाज सुन्नु, प्राकृतिक वनस्पति नियाल्नु र जङ्गलको विशालतालाई महसुस गर्नु आपैmँमा एउटा विशेष अनुभव हुने अध्यक्ष वलीले बताएका छन्।
बाँके राष्ट्रिय निकुञ्जप्रति पर्यटकको आकर्षण बढ्न थालेको छ् । आर्थिक वर्ष २०८२।०८३ मा निकुञ्जमा एक हजार ४६६ पर्यटक पुगेका थिए । अघिल्लो आर्थिक वर्ष यो संख्या ६२० र २०८०÷०८१ मा ४४४ थियो । बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धनको लागि निजी क्षेत्रसँग समन्वय गरेर विशेष योजनाका साथ अगाडि बढेको निकुञ्जका प्रमुख वार्डेन वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिएका छन्।




.gif)





