ताप्लजेजुङ, १० कात्तिक । ताप्लेजुङ युके युवा समाज युकेले ताप्लेजुङका क्यान्सर तथा मृगौला पीडितसहित तीन जनालाई रु एक लाख ६० हजार आर्थिक सहयोग प्रदान गरेको छ । समाजले मङ्गलबार सदरमुकाम फुङलिङमा पीडित परिवारका प्रतिनिधिलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।
समाजका महासचिव दिनेश लिङ्खिमका अनुसार फुङलिङ नगरपालिका–६ का दिनेश मादेनलाई रु ८० हजार तथा मेरिङदेन गाउँपालिका–२, सान्थाक्राका मिङमा खाङ्डु शेर्पा र सोही वडाका मिङ्मा छेम्बी शेर्पालाई जनही रु ४० हजारका दरले आर्थिक सहयोग उपलब्ध गराइएको हो ।
मादेनको मेरुदण्डमा समस्या देखिएपछि हाल काठमाडौँमा उपचार भइरहेको छ । त्यस्तै, मिङमा खाङ्डु मृगौलासम्बन्धी समस्याबाट पीडित हुनुहुन्छ भने मिङ्मा छेम्बी घाँटीको क्यान्सरको उपचार गराइरहेका छन्। सहयोग रकम समाजका महासचिव लिङ्खिमले बिरामीका आफन्त तथा प्रतिनिधिलाई हस्तान्तरण गरेका छन्।
ताप्लेजुङ घर भई हाल बेलायतमा बसोबास गर्दै आएका युवाको साझा संस्थाका रूपमा सन् २०२२ मा स्थापना भएको यस समाजले हालसम्म रु ४६ लाख आर्थिक सहयोग प्रदान गरिसकेको महासचिव लिङ्खिमले बताएका छन्।




.gif)





