images

२०८३ कार्तिक २९ गते

images
images
images

चार करोड ८० लाख लागतमा मानेडाँडा आधारभूत अस्पताल निर्माण

चार करोड ८० लाख लागतमा मानेडाँडा आधारभूत अस्पताल निर्माण

images
images
बिहिवार, कार्तिक २६ २०८३
बिहिवार, कार्तिक २६ २०८३
  • भोजपुर, २६ कात्तिक । भोजपुरको पौवादुङमा गाउँपालिका–४, वास्तिमस्थित मानेडाँडामा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीलाई गाउँमै स्वास्थ्य सेवा लिन सहज भएको छ ।

    images
    images

    प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको नीतिअनुसार रु चार करोड ८० लाख लागतमा डेढतले भवन निर्माण सम्पन्न गरी अस्पताल सञ्चालनमा ल्याइएको हो ।

    अस्पतालबाट नियमित स्वास्थ्य सेवा प्रवाह भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रप्रसाद उपाध्यायले बताएका छन् । उनका अनुसार अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको सेवा उपलब्ध हुन थालेपछि स्थानीयवासीलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम भएको छ ।

    images
    images

    गाउँमै विशेषज्ञ चिकित्सकसहितको आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष किरण राईले बताएका छन् । दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी विभिन्न स्वास्थ्य सेवा सञ्चालन गरिएको उनले जानकारी दिएका छन् ।

    “सामान्य उपचारका लागि पनि टाढा जानुपर्ने बाध्यता अन्त्य गर्न अस्पताल सञ्चालनमा ल्याएका हौँ”, अध्यक्ष राईले भने, “नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिकाले प्राथमिकताका साथ काम गरिरहेको छ ।”

    गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले अस्पताल सञ्चालनमा आएपछि विशेषगरी महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई राहत पुगेको बताएका छन् । स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्न पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।

    अस्पतालबाट आकस्मिक तथा बहिरङ्ग (ओपिडी) सेवा, प्रयोगशाला परीक्षण, गर्भवती महिलाका लागि भिडियो एक्सरे, मातृ तथा शिशु स्वास्थ्य सेवा, स्त्रीरोग तथा प्रसूति सेवा, नसर्ने रोगको परीक्षण र बर्थिङ सेवा सञ्चालन भइरहेका छन् । त्यस्तै, गाउँघर क्लिनिकमार्फत पनि स्वास्थ्य सेवा उपलब्ध गराइएको अस्पतालका चिकित्सक कौसलकिशोर अम्बिकादेव यादवले जानकारी दिएका छन् ।

    उनका अनुसार पाँच शय्या क्षमताको अस्पतालबाट दैनिक २५ देखि ३० जनासम्मले स्वास्थ्य सेवा लिँदै आएका छन् । अस्पताल सञ्चालनमा आएपछि सामान्य उपचारका लागि सदरमुकाम वा अन्य जिल्ला जानुपर्ने बाध्यता कम भएको भन्दै स्थानीयवासी खुसी भएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend