काठमाडौं । चितवनको सौराहामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ। बाढीपहिरो र सडक अवरुद्ध हुँदा केही महिनादेखि प्रभावित पर्यटन व्यवसाय दसैँको बिदा र अनुकूल मौसमसँगै चलायमान हुन थालेको हो।
दसैँको सुरुवाती दिनमा अपेक्षाअनुसार आन्तरिक पर्यटक नआए पनि टीकापछि पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको व्यवसायीले बताएका छन्। पर्यटकको चाप बढेसँगै सौराहाका होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा अन्य पर्यटन व्यवसायमा उत्साह थपिएको छ।
सौराहामा पर्यटन व्यवसाय गर्दै आएका गोकर्ण गिरीले पछिल्ला दिनमा पर्यटकको आगमन बढेपछि व्यवसायी उत्साहित भएको बताए। उनका अनुसार पर्यटकको चहलपहल बढेसँगै होटल तथा अन्य पर्यटन व्यवसायमा व्यस्तता बढेको छ। पर्यटक कोही किनमेलमा, कोही जंगल सफारीमा त कोही घुमफिरमा व्यस्त देखिन थालेका छन्।
सौराहास्थित वाटिका रिसोर्टका व्यवस्थापक लव सापकोटाका अनुसार पछिल्ला दुई–तीन दिनदेखि रिसोर्टका सबै कोठा भरिएका छन्। दसैँको बिदामा विशेषगरी नेपाली पर्यटकको आगमन बढेपछि पाहुनाको व्यवस्थापन र कोठा बुकिङ मिलाउनसमेत कठिन भइरहेको उनले बताए।
पर्यटन व्यवसायी ऋषि तिवारीले गत वर्षको तुलनामा यसपटक दसैँको टीकापछिको समयमा पर्यटकको आगमन राम्रो रहेको बताए। सार्वजनिक बिदा, चाडपर्व र अनुकूल मौसमले सौराहा भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढाएको उनको भनाइ छ।
सौराहामा पर्यटकका प्रमुख आकर्षणमा चितवन राष्ट्रिय निकुञ्जभित्रको जीप सफारी, राप्ती नदीमा डुङ्गा सयर, हात्ती सफारी तथा थारू सांस्कृतिक नाच रहेका छन्। डुङ्गा सयरका क्रममा नदीका जलचर तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न सकिन्छ।
क्षेत्रीय होटल सङ्घ नेपाल, चितवनका पूर्वअध्यक्ष सुमन घिमिरेले पनि दसैँको बिदामा सौराहालगायतका पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको बताए। उनका अनुसार भोटेकोशीमा आएको बाढीलगायतका प्राकृतिक विपत्ति र सडकको अवस्थाका कारण पर्यटनको मुख्य सिजन सुरु हुन करिब एक महिना ढिलाइ भएको थियो। त्यसले होटल बुकिङ र पर्यटकको आवागमनमा असर पारे पनि पछिल्लो समय अवस्था सुधार हुँदै गएको छ।
पर्यटकको आगमन बढ्न थालेपछि लामो समयदेखि सुस्ताएको पर्यटन व्यवसायमा राहत र नयाँ उत्साह थपिएको व्यवसायीको भनाइ छ।
चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्वारमध्ये एक सौराहा निकुञ्ज तथा आसपासका मध्यवर्ती सामुदायिक वन घुम्न आउने पर्यटकको प्रमुख बसाइस्थलका रूपमा परिचित छ। वन्यजन्तु अवलोकन, प्राकृतिक सौन्दर्य र स्थानीय थारू संस्कृतिको अनुभव लिन सकिने भएकाले सौराहा आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै आएको छ।
रासस




.gif)





