काठमाडौं । दसैँ बिदापछिको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। दसैँ बिदाअघि लगातार सात कारोबार दिन बढेको नेप्से बिदापछि भने ओरालो लागेको हो।
सोमबार नेप्से परिसूचक ४.३४ अंकले घटेर २६२९.८२ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स २.१७ अंक, फ्लोट इन्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६६ अंकले घटेका छन्।
नेप्सेसँगै यस दिन कारोबार रकममा पनि कमी आएको छ। गत असोज ३० गते ४ अर्ब ८८ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको बजारमा सोमबार ३४१ वटा स्टकको ३८ हजार ७८८ पटकको कारोबारमा ४ अर्ब २४ लाख २१ हजार रुपैयाँबराबरको १ करोड ३ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
बेनी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट
सोमबार बेनी हाइड्रोपावरको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य ५२ रुपैयाँ ९० पैसाले बढेर प्रतिकित्ता ४०५ रुपैयाँ ९० पैसा पुगेको छ।
त्यस्तै, माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशत र सोनापुर मिनरल्स एण्ड आयलको शेयरमूल्य ५ प्रतिशतले बढेको छ।
यस दिन चिरख्वा हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७.९२ प्रतिशतले घटेको छ।
घलेम्दी हाइड्रोको सर्वाधिक कारोबार
कारोबार रकमका आधारमा सोमबार घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको २३ करोड ६६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।
त्यस्तै, शिवम् सिमेन्ट्सको कारोबार रकम साढे २० करोड रुपैयाँ नाघेको छ भने माउन्टेन इनर्जी नेपालको करिब १८ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ।
९ उपसमूहको परिसूचक घट्यो
नेप्सेमा कारोबार भएका १३ उपसमूहमध्ये सोमबार चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ।
यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.११ प्रतिशतले बढेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।
यता, विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.२१ प्रतिशतले घटेको छ।
दसैँ बिदापछि खुलेको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुवै घट्दा लगानीकर्ताको गतिविधि मिश्रित देखिएको छ।




.gif)





