काठमाडौं, कात्तिक ८ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनी तथा सामूहिक लगानी कोषमध्ये ६२ वटाले गत आर्थिक वर्ष २०८२।८३ को नाफाबाट लाभांश वा प्रतिफल घोषणा गरेका छन्।
घोषित लाभांशमध्ये रिलायन्स स्पिनिङ मिल्सले सबैभन्दा बढी ३० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। माउन्टेन इनर्जी नेपाल र नेपाल ल्युब आयलले करिब २१.०५ प्रतिशत लाभांश घोषणा गरेका छन्।
त्यस्तै, सिद्धार्थ बैंक, गरिमा विकास बैंक र मञ्जुश्री फाइनान्सले २० प्रतिशत लाभांश प्रस्ताव गरेका छन्। कुथेली बुखरी स्मल हाइड्रोपावरले करिब १८.९५ प्रतिशत, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १६ प्रतिशत, नबिल बैंकले १५.८ प्रतिशत र एभरेस्ट बैंकले १५ प्रतिशत लाभांश घोषणा गरेका छन्।
क्षेत्रगत रूपमा हेर्दा जलविद्युत् क्षेत्रका २२ कम्पनीले लाभांश घोषणा गरेका छन्। बैंक तथा वित्तीय संस्था, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन र लघुवित्त क्षेत्रका कम्पनीले पनि लाभांश प्रस्ताव गरेका छन्।
बैंकतर्फ नबिल बैंकले ५ प्रतिशत बोनस सेयर र १०.८ प्रतिशत नगद गरी कुल १५.८ प्रतिशत लाभांश घोषणा गरेको छ। एभरेस्ट बैंकले ५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी १५ प्रतिशत तथा सानिमा बैंकले १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन्।
विकास बैंकतर्फ गरिमा विकास बैंकले २० प्रतिशत, कामना सेवा विकास बैंकले १५ प्रतिशत नगद र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १६ प्रतिशत लाभांश प्रस्ताव गरेका छन्। मञ्जुश्री फाइनान्सले ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको छ।
सामूहिक लगानी कोषहरूले पनि इकाइधनीका लागि प्रतिफल घोषणा गरेका छन्। राष्ट्रिय वाणिज्य बैंक म्युचुअल फन्ड–१ ले २० प्रतिशत, हिमालयन ८०–२० ले १५ प्रतिशत तथा नबिल ब्यालेन्स्ड फन्ड–२ र ३ ले समान १३ प्रतिशत प्रतिफल प्रस्ताव गरेका छन्। प्रभु स्मार्ट फन्ड, प्रभु सेलेक्ट फन्ड र ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ ले १२ प्रतिशत प्रतिफल घोषणा गरेका छन्।
लाभांशको प्रतिशतमा बोनस सेयर र नगद दुवै समावेश हुन सक्ने भएकाले कम्पनीअनुसार वितरणको प्रकृति फरक रहेको छ। घोषित लाभांश सम्बन्धित कम्पनीको साधारणसभाबाट पारित तथा नियामकीय प्रक्रिया पूरा भएपछि वितरण हुनेछ।




.gif)





