पेरिस । फ्रान्समा शिक्षा, रोजगारी र महँगी नियन्त्रणको माग गर्दै शनिबार देशभर लाखौँ नागरिकले प्रदर्शन गरेका छन्। फ्रान्सको गृह मन्त्रालयका अनुसार देशभर ४ लाख १० हजारभन्दा बढी मानिस प्रदर्शनमा सहभागी भएका थिए, जसमध्ये करिब १ लाख १० हजार राजधानी पेरिसमा थिए।
प्रदर्शनका क्रममा अधिकांश र्याली शान्तिपूर्ण रहे पनि केही सहरमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ। गृह मन्त्रालयका अनुसार प्रदर्शनका क्रममा करिब एक हजार जनालाई नियन्त्रणमा लिइएको छ।
प्रदर्शनकारीले शिक्षा प्रणालीमा लगानी बढाउन, युवाका लागि रोजगारीका अवसर सिर्जना गर्न तथा बढ्दो महँगी नियन्त्रण गर्न माग गरेका छन्। प्रदर्शनको दोस्रो चरणलाई ध्यानमा राख्दै फ्रान्सेली प्रशासनले देशभर करिब ७० हजार सुरक्षाकर्मी परिचालन गरेको थियो।
गृह मन्त्री लरेन्ट नुनेजका अनुसार केही स्थानमा पसल तथा व्यवसायमा तोडफोड र लुटपाटका घटना भएका छन्। पेरिसमा प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो। मार्सेली, बोर्डो र अन्य सहरमा पनि झडपका घटना सार्वजनिक भएका छन्।
यसैबीच, वामपन्थी नेता जाँ–लुक मेलेन्चोनले सरकारले प्रदर्शनकारीका माग सम्बोधन नगरे नोभेम्बर ५ देखि देशव्यापी हडताल हुन सक्ने चेतावनी दिएका छन्।
फ्रान्समा प्रदर्शन भइरहँदा इटाली, अल्बानिया र बेल्जियमका विभिन्न सहरमा पनि सरकारविरोधी प्रदर्शन तथा सुरक्षाकर्मीसँग झडपका घटना भएका छन्।
स्रोतः बीबीसी तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम




.gif)





