काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले आगामी बुधबारदेखि नेपालका विभिन्न भूभागमा वर्षा तथा हिमपात हुन सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ।

मौसमविद् रोजन लामिछानेका अनुसार कात्तिक ११ गते बुधबार देखि १५ गते आइतबार सम्म नेपालको मौसम प्रभावित हुन सक्नेछ। बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली बुधबारसम्म चक्रवातमा परिणत हुन सक्ने सम्भावना रहेको उनले बताएका छन्।
उक्त प्रणालीको प्रभाव बुधबारदेखि कोशी, बागमती र गण्डकी प्रदेशमा देखिन सक्नेछ। बिहीबार देखि यसको प्रभाव थप बढ्दै शनिबार दिउँसो शसम्म देशका विभिन्न भूभागमा वर्षा तथा हिमपात हुन सक्ने मौसमविद् लामिछानेको भनाइ छ।

मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा गर्ने पर्यटक र पैदलयात्रीलाई विशेष सावधानी अपनाउन उनले सुझाव दिएका छन्। यात्रा तथा भ्रमणको योजना बनाउनु अघि मौसम पूर्वानुमान महाशाखाबाट जारी हुने आधिकारिक सूचना हेर्नसमेत आग्रह गरिएको छ।
सम्भावित वर्षाले धानबाली भित्र्याउने तयारीमा रहेका किसानलाई समेत असर पार्न सक्ने देखिएको छ। मौसमविद् लामिछानेले सम्भव भएसम्म आगामी चार दिन धान नकाट्न र मौसम अनुकूल हुने अवस्था हेरेर कात्तिक १५ गतेपछि मात्रै धान काट्ने योजना बनाउन सुझाव दिएका छन्।

धान काटिसकेको अवस्थामा वर्षाले बाली भिज्ने तथा त्यसको गुणस्तरमा असर पर्ने जोखिम रहेकाले किसानले मौसमको पूर्वानुमानलाई ध्यान दिनुपर्ने उनको भनाइ छ।
यद्यपि, आइतबार, सोमबार र मंगलबार भने देशभर वर्षा तथा हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ।
मौसम प्रणालीको अवस्था परिवर्तन हुन सक्ने भएकाले पछिल्लो पूर्वानुमान नियमित रूपमा हेर्न तथा सोहीअनुसार कृषि कार्य, यात्रा र भ्रमणको योजना बनाउन महाशाखाले आग्रह गरेको छ।




.gif)





