images

२०८३ कार्तिक ४ गते

images
images
images
  • पूर्वाधार
  • तनहुँ र गोरखामा पूर्वाधार विकासका लागि...

तनहुँ र गोरखामा पूर्वाधार विकासका लागि २९ करोड ५० लाखका योजना छनोट

तनहुँ र गोरखामा पूर्वाधार विकासका लागि २९ करोड ५० लाखका योजना छनोट

images
images
मंगलवार, कार्तिक ४ २०८३
मंगलवार, कार्तिक ४ २०८३
  • काठमाडौं । नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३।८४ मा तनहुँ, गोरखा तथा आसपासका क्षेत्रमा पूर्वाधार विकासका लागि २९ करोड ५० लाख रुपैयाँ बराबरका योजना छनोट गरेको छ।

    images
    images

    गुरुयोजना अनुसार सडक स्तरोन्नति, पर्यटकीय पूर्वाधार तथा सांस्कृतिक सम्पदाको विकासलाई प्राथमिकता दिँदै विभिन्न कार्यक्रम अघि बढाइएको हो। कार्यालयका इन्जिनियर श्रीप्रसाद पाण्डेका अनुसार स्वीकृत बजेटबाट तनहुँको भानु नगरपालिका, बन्दीपुर गाउँपालिका र गोरखाको पालुङटार नगरपालिकामा पूर्वाधार विकासका योजना सञ्चालन गरिनेछ।

    भानु साहित्य उद्यान र सडकका लागि २० करोड ५० लाख

    images
    images

    भानु नगरपालिका–४ मा चुँदीबेँसी–मोहरियादेखि शिखर कटेरी हुँदै भानु साहित्य उद्यान जोड्ने सडक स्तरोन्नतिका लागि १० करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।

    सडक स्तरोन्नतिपछि आदिकवि भानुभक्त आचार्यको जन्मस्थलसँग जोडिएका क्षेत्रमा आवागमन सहज हुने तथा स्थानीयवासी र पर्यटक लाभान्वित हुने अपेक्षा गरिएको छ।

    यसैगरी, भानु नगरपालिका–४ स्थित भानुभक्त आचार्यको जन्मस्थलमा भानु साहित्य उद्यानको पूर्वाधार निर्माणका लागि १० करोड रुपैयाँ छुट्याइएको छ। साहित्य, संस्कृति र पर्यटनसँग जोडिएको उद्यानलाई व्यवस्थित तथा आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

    बन्दीपुरमा सडक र पर्यटकीय पूर्वाधार निर्माण

    बन्दीपुर गाउँपालिकामा सडक स्तरोन्नति र पर्यटकीय पूर्वाधार विकासका लागि ६ करोड रुपैयाँ विनियोजन गरिएको छ।

    कालिका मोटरमार्गदेखि गुरुङटारस्थित नेपाल टेलिकमको टावर, मगर गुठी हुँदै बिरुवा जोड्ने मोटरमार्ग स्तरोन्नतिका लागि तीन करोड रुपैयाँ छुट्याइएको छ। सडक स्तरोन्नतिले ग्रामीण बस्तीको आवागमन सहज बनाउनुका साथै स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    त्यस्तै, बन्दीपुर गाउँपालिका–२ र ३ अन्तर्गत बन्दीकापुरमा २५ पोखरी ताल पार्क निर्माणका लागि तीन करोड रुपैयाँ विनियोजन गरिएको छ। प्राकृतिक तथा पर्यटकीय सम्भावना बोकेको क्षेत्रलाई पार्कका रूपमा विकास गरी आन्तरिक पर्यटक आकर्षित गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ।

    पालुङटारमा सडक स्तरोन्नति

    छिमेकी जिल्ला गोरखाको पालुङटार नगरपालिकामा लुंगा–वडा कार्यालय–चापाभञ्ज्याङ–कार्की गाउँ–आँपपिपल अस्पताल सडक स्तरोन्नतिका लागि तीन करोड रुपैयाँ छुट्याइएको छ।

    सडक स्तरोन्नतिले स्थानीय बासिन्दाको आवागमन सहज बनाउनुका साथै अस्पतालसम्म पुग्ने पहुँच सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    साहित्यिक पर्यटन र आर्थिक गतिविधिमा जोड

    नयाँ सहर आयोजनाअन्तर्गत सञ्चालन हुने योजनाले सडक सञ्जाल विस्तारसँगै स्थानीय पर्यटन, संस्कृति र आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुर्‍याउने इन्जिनियर पाण्डेले बताए।

    विशेषगरी भानु साहित्य उद्यान र भानुभक्त आचार्यको जन्मस्थललाई केन्द्रमा राखेर निर्माण गरिने पूर्वाधारले भानु क्षेत्रमा साहित्यिक पर्यटन प्रवर्द्धन गर्ने विश्वास गरिएको छ। बन्दीपुरमा सडक तथा पार्क निर्माणका योजनाले पर्यटकीय पूर्वाधारलाई थप व्यवस्थित बनाउन सहयोग गर्नेछ।

    सडक पहुँच विस्तारसँगै ग्रामीण क्षेत्रका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीयस्थललाई मुख्य सडक सञ्जालसँग जोड्ने आधार तयार हुने कार्यालयको अपेक्षा छ।

    विसं २०७२।७३ देखि नयाँ सहर आयोजना

    आन्तरिक बसाइँसराइलाई व्यवस्थित गर्ने उद्देश्यले मध्यपहाडी लोकमार्ग आसपास १० वटा नयाँ सहर स्थापना गर्ने सरकारको नीतिअनुरूप तनहुँमा नयाँ सहर आयोजना डुम्रे भन्सार सुरु गरिएको हो।

    विसं २०९० सम्म व्यवस्थित बस्ती र आवश्यक पूर्वाधार विकास गर्ने लक्ष्यसहित आर्थिक वर्ष २०७२।७३ देखि आयोजना सञ्चालनमा आएको हो। आयोजनामा साविकको भानु गाविसका वडा नं. १, २, ३ र ४ तथा साविकको बन्दीपुर गाविसका वडा नं. १, २, ३ र ४ समेटिएका छन्।

    यस आयोजनामार्फत सडक, पर्यटन, संस्कृति र बस्ती विकासका पूर्वाधार विस्तार गरी क्षेत्रीय आर्थिक गतिविधि बढाउने लक्ष्य राखिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend