images

२०८३ कार्तिक ४ गते

images
images
images

दसैँको आकाशबाट हराउँदै चंगाको रङ, मोबाइल र महँगीले घटायो आकर्षण

दसैँको आकाशबाट हराउँदै चंगाको रङ, मोबाइल र महँगीले घटायो आकर्षण

images
images
मंगलवार, कार्तिक ४ २०८३
मंगलवार, कार्तिक ४ २०८३
  • काठमाडौं । दसैँ नजिकिएसँगै बजारका पसलमा रंगीचंगी चंगा सजिन थालेका छन्। चंगा र धागोको किनबेच पनि भइरहेको छ। तर, कुनै समय दसैँको आगमनसँगै आकाशभरि देखिने चंगाको दृश्य पछिल्ला वर्षमा क्रमशः पातलिँदै गएको छ। बढ्दो मूल्य, बदलिँदो जीवनशैली र मोबाइल तथा डिजिटल प्रविधिप्रतिको आकर्षणले चंगा उडाउने परम्परामा असर पारेको व्यवसायी बताउँछन्।

    images
    images

    चंगाको व्यापार पूर्ण रूपमा हराएको छैन, तर त्यससँग जोडिएको उत्साह भने पहिलेको जस्तो छैन। पुस्तौँदेखि चंगा बेच्दै आएका व्यवसायीका लागि यो आम्दानी घट्नुको विषय मात्रै होइन, दसैँसँग जोडिएको सांस्कृतिक परम्परा कमजोर बन्दै गएको संकेत पनि हो।

    ललितपुरको पाटनस्थित ट्यागल क्षेत्रमा करिब ३५ देखि ४० वर्षदेखि चंगा व्यापार गर्दै आएको देउला परिवारले यो परिवर्तन नजिकबाट अनुभव गरिरहेको छ। गोपाल देउलाले सुरु गरेको व्यवसायलाई उनका छोरा विजय देउलाले निरन्तरता दिइरहेका छन्। यस वर्ष पसलमा अपेक्षाअनुसार ग्राहक नआएको विजय बताउँछन्।

    images
    images

    उनका अनुसार लगातारको वर्षा, बाढीपहिरोको प्रभाव र सडकको अवस्थाले ग्राहकको आवागमनमा असर पारेको छ। चंगा बेच्ने पसलको संख्या बढे पनि चंगा उडाउनेको संख्या भने सोही अनुपातमा बढ्न नसकेको उनको अनुभव छ।

    ‘यो वर्ष चंगाको व्यापार घटेकै हो। पसलहरू धेरै भएका छन्, तर चंगा उडाउनेहरू खासै देखिँदैनन्,’ विजय भन्छन्, ‘पहिला पाँचदेखि १० रुपैयाँमा पाइने चंगा अहिले महँगो भएको छ। त्यसैले सबैले उडाउन सक्ने अवस्था पनि छैन।’

    मोबाइल र ड्रोनले फेरियो बालबालिकाको रुचि

    पहिले दसैँ आउनासाथ बालबालिकादेखि युवासम्म चंगा उडाउन उत्साहित हुन्थे। घरका छत, खुला चौर र बस्तीका आकाशमा चंगा उडाउने प्रतिस्पर्धा देखिन्थ्यो। चंगा उडाउनु मनोरञ्जन मात्रै नभई साथीभाइसँग भेटघाट गर्ने र चाडपर्वको खुसी साट्ने माध्यमसमेत थियो।

    तर, अहिले बालबालिकाको मनोरञ्जनको माध्यम फेरिँदै गएको व्यवसायीको अनुभव छ। मोबाइलमा खेल खेल्ने, भिडियो हेर्ने र नयाँ प्रविधिमा रमाउने क्रम बढेसँगै चंगाप्रतिको आकर्षण घटेको उनीहरू बताउँछन्। कतिपय बालबालिका परम्परागत चंगाभन्दा ड्रोन उडाउन रुचि देखाउन थालेका छन्।

    ‘अहिलेका बालबालिका मोबाइलमा बढी व्यस्त छन्। उनीहरूलाई चंगा उडाउनुभन्दा ड्रोन उडाउन रमाइलो लाग्न थालेको छ,’ विजय भन्छन्, ‘चंगा उडाउन पनि उनीहरूलाई गाह्रो लाग्छ। यिनै कारणले चंगा उडाउनेको संख्या घटेको हो।’

    प्रविधिको विकाससँगै मनोरञ्जनका विकल्प बढ्नु स्वाभाविक भए पनि त्यसले स्थानीय संस्कृति र पुस्तौँदेखि चल्दै आएका अभ्यासमा पार्ने प्रभावबारे व्यवसायी चिन्तित छन्। चंगा उडाउन आवश्यक सीप सिक्ने, धागो मिलाउने र हावाको बहावअनुसार चंगा उडाउने अनुभव नयाँ पुस्तामा कम हुँदै गएको उनीहरूको बुझाइ छ।

    आयातमा निर्भर बजार, बढ्दो मूल्यको मार

    चंगा व्यापारमा देखिएको अर्को चुनौती आयातमा निर्भरता हो। विजय देउलाका अनुसार नेपालमा बिक्री हुने अधिकांश चंगा विदेशबाट ल्याइन्छन्। कागजका चंगा मुख्यतः भारतबाट आउने गरेका छन् भने कपडाबाट बनेका विभिन्न डिजाइनका चंगा चीनबाट आयात हुने गरेका छन्।

    आयातमा निर्भर हुँदा खरिद मूल्यमा हुने परिवर्तनको असर सीधै नेपाली बजारमा पर्ने व्यवसायी बताउँछन्। विदेशबाट आउने चंगाको मूल्य बढेपछि स्थानीय व्यवसायीले पनि बिक्री मूल्य बढाउनुपर्ने अवस्था आउँछ। त्यसको असर सीमित आम्दानी भएका उपभोक्तामा पर्ने गरेको उनीहरूको भनाइ छ।

    ‘हामीले भारतबाट चंगा ल्याएर बेच्ने हो। बाहिरबाट आउने भएपछि उनीहरूले जे मूल्य तोक्छन्, त्यसैअनुसार लिनुपर्ने बाध्यता छ,’ विजय भन्छन्।

    चंगाको मूल्य बढ्दै जाँदा पहिले सहजै किन्न सकिने वस्तु अहिले कतिपय परिवारका लागि अतिरिक्त खर्च बन्न थालेको व्यवसायीको अनुभव छ। यसले चंगा उडाउने परम्परामा सबैको पहुँच कायम राख्न चुनौती थपेको छ।

    यद्यपि, देउला परिवारका लागि यो व्यवसाय नाफा कमाउने माध्यम मात्रै होइन। पुस्तौँदेखि गर्दै आएको पेसा र त्यससँग जोडिएको सांस्कृतिक पहिचान जोगाउने उद्देश्यले पसल सञ्चालन गरिरहेको विजय बताउँछन्।

    ‘पसलबाट खान पुग्ने आम्दानी हुन्छ भन्ने मात्रै होइन। आफ्नो देशको पहिचान किन गुमाउने भन्ने कुरा हो। त्यसैले दुःख गरेर भए पनि पसल चलाइरहेका छौँ,’ उनी भन्छन्।

    नयाँ डिजाइनका चंगा, व्यापारमा सामान्य चहलपहल

    उपभोक्ताको रुचिअनुसार चंगाको डिजाइन र बनावटमा विविधता थपिएको छ। चंगा बिक्री गर्दै आएकी रिना मगरको पसलमा कागज र प्लास्टिकदेखि कपडाबाट बनेका विभिन्न आकारका चंगा उपलब्ध छन्। चिनियाँ चंगामा चील, स्पाइडरम्यान र डोरेमोनजस्ता चित्रसमेत राखिएका छन्।

    उनका अनुसार साना बालबालिकाका लागि प्लास्टिक र कागजका चंगाको माग रहने गरेको छ। ठूला आकारका चंगाको मूल्य १५० देखि २०० रुपैयाँसम्म पर्ने उनी बताउँछिन्।

    ‘यस वर्ष व्यापार ठीकै छ। गत वर्षको तुलनामा अहिले सामान र धागोको बिक्री बढ्दै गएको छ। तर व्यापार भनेजस्तो उत्साहजनक चाहिँ छैन,’ मगर भन्छिन्।

    उनको अनुभवमा वर्षा रोकिएपछि बिक्रीमा केही सुधार देखिए पनि समग्र बजारमा अपेक्षित चहलपहल छैन। यसले चंगाको व्यापार पूर्ण रूपमा हराइसकेको नभई मौसमी माग र उपभोक्ताको व्यवहारमा परिवर्तन आएको देखाउँछ।

    अनलाइन व्यापार बढे पनि पसलमै पुगेर किन्ने ग्राहक

    डिजिटल माध्यमबाट सामान किनबेच गर्ने प्रवृत्ति बढ्दै जाँदा चंगा व्यापारमा पनि त्यसको प्रभाव देखिन थालेको छ। व्यवसायी किशोर देउलाका अनुसार अनलाइनबाट सामान बिक्री हुने क्रम बढे पनि ग्राहकको एउटा समूह भने पसलमै पुगेर चंगा हेर्ने, छाम्ने र गुणस्तर बुझेर किन्ने गर्छ।

    उनको पसलमा कटन, नाइलन र सिलिकनजस्ता सामग्रीबाट बनेका चंगा पाइन्छन्। तीमध्ये कटनका चंगा बढी बिक्री हुने गरेको उनी बताउँछन्। साना सजावटी चंगा केही आफैँले बनाउने गरे पनि अधिकांश चंगा भारत तथा कपडाका चंगा चीनबाट आयात हुने गरेका छन्।

    किशोरका अनुसार यस वर्ष व्यापार सामान्य छ। पानी परेका दिन ग्राहकको आवागमन घट्ने गरे पनि अनलाइन व्यापारकै कारण आफ्नो कारोबारमा ठूलो असर नपरेको उनको भनाइ छ। पुराना ग्राहक र आसपासका उपभोक्ता पसलमै आएर सामान किन्ने गरेका छन्।

    उनका अनुसार बजारमा सामान्य मूल्यका चंगादेखि हजारौँ रुपैयाँ पर्ने चंगासम्म उपलब्ध छन्। ग्राहकले आफ्नो रुचि, आवश्यकता र आर्थिक क्षमताअनुसार चंगा छनोट गर्ने गरेका छन्।

    व्यवसायसँगै सांस्कृतिक विरासत जोगाउने चिन्ता

    चंगा व्यापारमा संलग्न परिवारले व्यवसायलाई निरन्तरता दिए पनि आगामी पुस्ताले यसलाई अपनाउँछन् भन्ने निश्चित छैन। गोपाल देउला र उनका छोरा विजयका लागि चंगा पसल सञ्चालन गर्नु पारिवारिक पेसा जोगाउनु मात्रै होइन, पाटनको पुरानो व्यापारिक अभ्यास र दसैँसँग जोडिएको संस्कृतिलाई निरन्तरता दिनु पनि हो।

    नयाँ पुस्ताको रुचि, बढ्दो लागत र बजारमा देखिएको परिवर्तनले यस व्यवसायको भविष्यबारे प्रश्न उठाएको छ। चंगा बेच्ने पसलहरू रहिरहे पनि चंगा उडाउने मानिसको संख्या घट्दै जाने हो भने यो परम्परा क्रमशः सीमित हुन सक्ने व्यवसायीको चिन्ता छ।

    विजय नयाँ पुस्तालाई दसैँमा चंगा उडाउन आग्रह गर्छन्। वर्षभरि समय नपाए पनि घटस्थापनादेखि विजयादशमीसम्मको अवधिमा केही दिन चंगा उडाउने अभ्यासलाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ।

    दसैँमा चंगा उडाउनु मनोरञ्जनको विषय मात्रै होइन, पुस्ताबीच संस्कृति हस्तान्तरण गर्ने अवसर पनि हो। बजारमा नयाँ डिजाइनका चंगा थपिनु र बिक्री हुनु सकारात्मक भए पनि परम्परा जोगाउन यसको प्रयोग र अभ्यासलाई निरन्तरता दिन आवश्यक छ।

    पाटनको देउला परिवारले पसल चलाइरहेको छ, बजारमा चंगा पनि उपलब्ध छन्। तर आगामी पुस्ताले आकाशमा चंगा उडाउने संस्कृतिलाई कति अपनाउँछ भन्ने प्रश्न अझै खुला छ। व्यवसायीका लागि अहिलेको मुख्य चिन्ता व्यापार घट्नु मात्रै होइन, दसैँको आकाशबाट चंगाको रङ क्रमशः हराउँदै जाने सम्भावना पनि हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend