मुस्ताङ । यस वर्षको दसैँलाई लक्षित गरी मुस्ताङ हुँदै रु ३५ करोड मूल्य बराबरका भेडाच्याङ्ग्रा निकासी भएका छन् । कृषि तथा पशु विकास कार्यालयका अनुसार मुस्ताङसहित कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट कुल १३ हजार २७९ भेडाच्याङ्ग्रा बिक्रीका लागि बेसीतर्फ झारिएका हुन् ।
कार्यालय प्रमुख डा.लालमणि अर्यालका अनुसार मुस्ताङ मार्ग हुँदै ११ हजार १६४ च्याङ्ग्रा र दुई हजार ११५ भेडा निकासी भएका छन् । कुल निकासीमध्ये मुस्ताङबाट रु २२ करोडभन्दा बढी र कर्णाली प्रदेशका डोल्पा, मुगु तथा जुम्लाबाट रु १३ करोड बराबरका भेडा, च्याङ्ग्रा तथा च्यालु निकासी भएका हुन् ।
कार्यालयका अनुसार मुस्ताङबाट मात्रै सात हजार ९६४ च्याङ्ग्रा र एक हजार २०४ भेडा निकासी भएका छन् । मुस्ताङका किसानले पालेका खोरपाला तथा तिब्बतबाट कोरला नाका हुँदै भित्र्याइएका ४०० भन्दा बढी भेडाच्याङ्ग्रा स्थानीय व्यापारीले पोखरा, काठमाडौं लगायतका बजारमा पुर्याएका छन् ।
त्यसैगरी, डोल्पाबाट दुई हजार ६८० च्याङ्ग्रा र ८७१ भेडा, जुम्लाबाट ३०० च्याङ्ग्रा तथा मुगुबाट ३२० च्याङ्ग्रा र ४० भेडा निकासी भएका छन् ।
कार्यालयका अनुसार यस वर्ष च्याङ्ग्राको औसत मूल्य प्रतिगोटा रु ३३ हजार, भेडाको रु २२ हजार र च्यालु (माउ)को रु १० हजार कायम गरिएको थियो ।
दसैँका बेला भेडाच्याङ्ग्राको माग बढ्ने भएकाले मुस्ताङ हुँदै हुने निकासीले स्थानीय पशुपालक किसान तथा व्यापारीलाई आम्दानीको अवसर प्रदान गरेको छ । साथै, यस कारोबारले हिमाली क्षेत्रको पशुपालन व्यवसाय र दसैँको बजारलाई जोड्ने महत्वपूर्ण भूमिका खेलेको छ ।




.gif)





