ललितपुर, असोज २९ । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशले भोटेकोशी बाढीबाट प्रभावित डेरी व्यवसायी तथा आफ्ना सदस्यहरूलाई राहत हस्तान्तरण गरेको छ। नेपालीहरूको महान् पर्व विजयादशमी, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदानसहित राहत हस्तान्तरण कार्यक्रम आयोजना गरिएको हो।
नेपाल डेरी एसोसिएसन बागमती प्रदेश कार्यसमितिको आयोजनामा एसोसिएसनको केन्द्रीय कार्यालय शंखमूलमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम प्रदेश अध्यक्ष टीकाप्रसाद घिमिरेको अध्यक्षतामा, नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यता तथा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा एसोसिएसनका संस्थापक एवं सल्लाहकार राजन दाहाल, बोर्ड सदस्य रामभक्त दाहाल, वरिष्ठ उपाध्यक्ष दीपप्रसाद धमला, उपाध्यक्ष मनोजप्रसाद घिमिरे, सहसचिव रमेश सञ्जेल, नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघका महासचिव श्रीकृष्ण भण्डारी र नेपाल डेरी एसोसिएसन नुवाकोटका अध्यक्ष बालकृष्ण ढुङ्गाना लगायत विभिन्न पदाधिकारी, सदस्य तथा अतिथिहरूको उपस्थिति थियो।
बाढी प्रभावित डेरी व्यवसायीलाई सहयोग गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित डेरी व्यवसायी तथा एसोसिएसनका सदस्यलाई सहयोग पुर्याउने उद्देश्यले राहत हस्तान्तरण कार्यक्रम आयोजना गरिएको एसोसिएसनले जनाएको छ।
कार्यक्रममा नुवाकोट जिल्लाका त्रिशुल डेरी प्रालि, न्यू स्टार नुवाकोट डेरी सप्लायर्स, भुवनेश्वरी डेरी सप्लायर्स तथा त्रिशुली दूध संकलन तथा बिक्री केन्द्रसँग आबद्ध प्रभावित सदस्यहरूलाई राहत हस्तान्तरण गरिएको थियो।
राहत संकलन तथा व्यवस्थापनमा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको अगुवाइ रहेको थियो। राहतका लागि एसोसिएसनका पदाधिकारी, सदस्य तथा आबद्ध डेरी उद्योगी व्यवसायीहरूले सहयोग गरेका थिए।
विपद्का बेला सदस्यलाई साथ दिने प्रतिबद्धता कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले विपद्का बेला प्रभावित सदस्यलाई सहयोग गर्नु संस्थाको दायित्व भएको बताए। सदस्यहरूको आर्थिक तथा सामाजिक हितमा सहकार्य गर्ने र आपसी सहयोगको भावनालाई बलियो बनाउने उद्देश्यले राहत कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो।
बागमती प्रदेशका उपाध्यक्ष ध्रुव तिवारीले स्वागत मन्तव्य राख्दै चाडपर्वको खुसी साटासाट गर्नुका साथै विपद्मा परेका व्यवसायी तथा सदस्यहरूको दुःखमा साथ दिनु मानवीय भावना र सामाजिक उत्तरदायित्वको उदाहरण भएको बताए।
एसोसिएसनका संस्थापक एवं सल्लाहकार राजन दाहालले आफ्ना सदस्यहरूलाई अप्ठ्यारो परेको समयमा संस्थाले सधैँ साथ दिँदै आएको उल्लेख गरे।
कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष हेमराज ढकालले नेपाल डेरी एसोसिएसनले सदस्यहरूको हितमा सक्रिय रूपमा काम गर्दै आएको बताए। कठिन परिस्थितिमा सदस्यहरू एकजुट भएर प्रभावित व्यवसायीलाई सहयोग गरेकोमा उनले खुसी व्यक्त गरे। साथै, एसोसिएसनले नेपाल उद्योग वाणिज्य महासंघसँग सहकार्य गर्दै आएको पनि उनले स्मरण गराए।
चाडपर्वको शुभकामना दिँदै कार्यक्रम सम्पन्न कार्यक्रमको समापन गर्दै नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीकाप्रसाद घिमिरेले विजयादशमी, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे।
एसोसिएसनले चाडपर्वको अवसरमा आयोजना गरेको यस कार्यक्रम मार्फत बाढी प्रभावित व्यवसायीलाई राहत प्रदान गर्नुका साथै सदस्यहरूबीच एकता, सहकार्य र सामाजिक उत्तरदायित्वको सन्देश दिएको छ।




.gif)





