images

२०८३ आश्विन २३ गते

images
images
images
  • कृषि
  • दिगो प्याकेजिङ र हरित व्यवसायका पाँच...

दिगो प्याकेजिङ र हरित व्यवसायका पाँच उद्यमी पुरस्कृत

दिगो प्याकेजिङ र हरित व्यवसायका पाँच उद्यमी पुरस्कृत

images
images
शुक्रवार, आश्विन २३ २०८३
शुक्रवार, आश्विन २३ २०८३
  • काठमाडौँ । युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजनाअन्तर्गत दिगो प्याकेजिङ र हरित व्यवसाय प्रवर्द्धन कार्यक्रमका पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत भएका छन्। वातावरणमैत्री व्यवसाय, दिगो प्याकेजिङ र चक्रीय अर्थतन्त्रको प्रवर्द्धनमा नवीन समाधान प्रस्तुत गर्ने उद्यमीलाई बिहीबार काठमाडौंमा आयोजित समारोहमा पुरस्कृत गरिएको हो।

    images
    images

    काठमाडौँको हत्तिसारस्थित माया मनोर बुटिक होटलमा आयोजित पुरस्कार वितरण समारोहमा हरित व्यवसाय प्रवर्द्धन कार्यक्रम (जीबीएपी) अन्तर्गत तीन र दिगो प्याकेजिङ कार्यक्रम (एसपीपी) अन्तर्गत दुई उद्यमी विजेता घोषित भएका हुन्।

    हरित व्यवसाय प्रवर्द्धन कार्यक्रम अन्तर्गत बागमती प्रदेशबाट रि अप स्टुडियो, लुम्बिनी प्रदेशबाट इकोदोस्ती प्रालि र मधेश प्रदेशबाट कुशवाहा बहुउद्देश्यीय कृषि तथा पशुपालन फार्म विजेता बनेका छन्। उनीहरूले जनही पाँच लाख ७४ हजार रुपैयाँ बराबरको अनुदान प्राप्त गरेका छन्।

    images
    images

    त्यस्तै, दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत ए।वि। बायोडिग्रेडेबल प्रडक्ट प्रालि र छाहारी फार्म प्रालि विजेता बनेका छन्। दुवै संस्थाले जनही सात लाख रुपैयाँ बराबरको अनुदान प्राप्त गरेका छन्।

    निर्णायक मण्डलबाट विजेता छनोट

    दुवै कार्यक्रमका अन्तिम चरणमा छनोट भएका सहभागीले आफ्ना व्यावसायिक अवधारणा, उत्पादन र नवीन समाधान निर्णायक मण्डलसमक्ष प्रस्तुत गरेका थिए। व्यावसायिक सम्भावना, नवीनता तथा दिगो विकासमा पुर्‍याउन सक्ने योगदानका आधारमा विजेता छनोट गरिएको आयोजकले जनाएको छ।

    हरित व्यवसाय प्रवर्द्धन कार्यक्रमका सहभागीको मूल्याङ्कन काठमाडौं अर्गानिकका भुवन केसी, क्रिएसन नेपालकी सुजाता कोइराला, एभरेस्ट वुमन्स भलिबल लिगकी स्नेभी चापागाईं, लक्ष्मी सनराइज बैंककी विद्या शर्मा र लिंकन इन्टरनेसनल कलेजका सत्येन्द्र उप्रेती सम्मिलित निर्णायक मण्डलले गरेको थियो।

    त्यस्तै, दिगो प्याकेजिङ कार्यक्रमका सहभागीको मूल्याङ्कन लक्ष्मी सनराइज बैंकका राम पराजुली, वान टु वाचकी सोनी श्रेष्ठ, काठमाडौं विश्वविद्यालयका रिचन श्रेष्ठ र फूलप्रसादकी सुषमा शर्मा वस्ती सम्मिलित निर्णायक मण्डलले गरेको थियो।

    चक्रीय अर्थतन्त्रलाई व्यवहारमा उतार्नुपर्नेमा जोड

    क्रिएसन नेपालकी अध्यक्ष अरुणा कार्कीले विजेता उद्यमी तथा नवप्रवर्तकलाई बधाई दिँदै चक्रीय अर्थतन्त्रलाई व्यवहारमा उतार्न उनीहरूले देखाएको प्रतिबद्धता नेपालको दिगो आर्थिक विकासका लागि महत्त्वपूर्ण रहेको बताइन्। उनले वातावरणमैत्री व्यावसायिक अभ्यासलाई प्राथमिकता दिँदै आगामी दिनमा पनि यस अभियानलाई निरन्तरता दिन आग्रह गरिन्।

    क्रिएसन नेपालकी कार्यक्रम निर्देशक सुजाता कोइरालाले व्यवसाय सञ्चालन गर्दा लागतलाई मात्र प्राथमिकता दिने प्रवृत्तिबीच सहभागी उद्यमीले वातावरण र पृथ्वीका लागि लाभदायक विकल्प रोज्नु सकारात्मक भएको बताइन्।

    हरित अर्थतन्त्रको प्रवर्द्धन र दिगो व्यवसायलाई एकै ठाउँमा जोड्ने उद्देश्यले सुरु गरिएको पहललाई निरन्तरता दिँदै कार्यक्रम सञ्चालन गरिएको उनले बताइन्। प्याकेजिङजन्य फोहोरले वातावरणमा पार्ने असर न्यूनीकरण गर्न दिगो प्याकेजिङलाई प्राथमिकता दिन आवश्यक रहेको उनको भनाइ थियो।

    २१ सहभागीबीच प्रतिस्पर्धा

    पुरस्कार वितरण समारोहअघि अक्टोबर ६ र ७ मा छनोट भएका उद्यमी तथा नवप्रवर्तकका लागि दुईदिने आवासीय बुट क्याम्प सञ्चालन गरिएको थियो। बुट क्याम्पमा सहभागीलाई व्यावसायिक अवधारणा परिष्कृत गर्न, प्रभावकारी प्रस्तुति तयार पार्न तथा लगानी र बजारका सम्भावनासँग जोडिन आवश्यक प्रशिक्षण प्रदान गरिएको थियो।

    दुवै कार्यक्रमका अन्तिम चरणमा पुगेका २१ सहभागीले निर्णायक मण्डल तथा आमन्त्रित सरोकारवाला समक्ष आफ्ना व्यावसायिक अवधारणा, उत्पादन र समाधान प्रस्तुत गरेका थिए। तीमध्ये हरित व्यवसाय प्रवर्द्धन कार्यक्रमका १३ र दिगो प्याकेजिङ कार्यक्रमका आठ सहभागी थिए।

    दिगो व्यवसाय र वातावरण संरक्षणमा जोड

    युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजनाले प्लास्टिकजन्य फोहोर व्यवस्थापन, स्रोतको पुनःप्रयोग, वातावरणमैत्री प्याकेजिङ सामग्रीको विकास तथा हरित उद्यमशीलताको प्रवर्द्धनमा जोड दिँदै आएको छ।

    परियोजना अन्तर्गतका कार्यक्रमले नवीन व्यावसायिक विचारलाई व्यवहारमा उतार्न, वातावरणीय चुनौतीको समाधान खोज्न तथा नेपालमा दिगो र चक्रीय अर्थतन्त्रको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, हरित उद्यमी तथा नवप्रवर्तकलाई आफ्ना उत्पादन र समाधान विस्तार गर्न अवसर उपलब्ध गराउने लक्ष्य राखिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend