रुपन्देही । पछिल्ला केही दिनयता परेको वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा धानबालीमा क्षति पुगेको छ। विशेष गरी पाक्न लागेको तथा काटेर सुकाउन राखिएको धानमा वर्षाले क्षति पुर्याएको किसानहरूले बताएका छन्। प्रदेशका विभिन्न जिल्लामा असोज २०, २१ र २२ गतेसमेत केही स्थानमा वर्षा भएको छ।वर्षाका कारण प्रदेशमा कति क्षेत्रफलको खेती प्रभावित भयो भन्ने यकिन विवरण भने आइसकेको छैन। हाल लुम्बिनी प्रदेश कृषि निर्देशनालयले क्षतिको विवरण सङ्कलन गरिरहेको छ।
कृषि निर्देशनालयका निर्देशक रामप्रसाद पाण्डेका अनुसार बर्दिया, बाँके, रुपन्देही र कपिलवस्तु लगायतका जिल्लाबाट धानबालीमा क्षति भएको अनौपचारिक गुनासो आएको छ। ‘अहिले तथ्याङ्क सङ्कलनकै क्रममा छौँ,’ निर्देशक पाण्डेले भने, ‘स्थानीय तहले विवरण सङ्कलन गरिरहेका छन्। स्थानीय तहबाट सङ्कलित विवरण जिल्लामा आउने र सबै जिल्लाको विवरण प्राप्त भएपछि प्रदेशले विश्लेषण गर्छ।’आज र भोलिसम्ममा क्षतिको विवरण सङ्कलन गर्ने काम पूरा हुने निर्देशनालयले जनाएको छ। त्यसपछि प्रदेश सरकारले वर्षाका कारण भएको कृषि क्षतिको यकिन तथ्याङ्क सार्वजनिक गर्ने तयारी गरेको छ।




.gif)



