काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, डिल्लीबजारअन्तर्गत ३ नं. नापी टोली, माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्लीबहादुर वलीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।छुट जग्गा दर्ताको सिफारिससहितको मिसिल तथा आवश्यक कागजात भूमि प्रशासन कार्यालय, मनमैजु, काठमाडौँमा पठाइदिने र छुट जग्गा दर्ताको काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु. १० लाख घुस मागेको आरोप वलीमाथि लागेको आयोगले जनाएको छ।
आयोगका अनुसार वलीले घुस मागिरहेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियारको टङ्गालस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।अनुसन्धानका क्रममा वलीले छुट जग्गा दर्ताको सिफारिससहितको मिसिल फाइल तथा आवश्यक कागजात भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाउने र छुट जग्गा दर्ताको काममा सहजीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु. १० लाख घुस माग गरी लिएको पुष्टि भएको आयोगको दाबी छ।सोही आधारमा वलीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको ठहर गर्दै बिगो रु. १० लाख कायम गरिएको छ।आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद तथा सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबराबर जरिवाना सजायको मागदाबी गर्दै आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ।




.gif)



