काठमाडौँ । दसैँ, तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल, नेपालले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ तयार गरी असोज २२ गतेदेखि देशभर लागू गरेको छ। सीमा सुरक्षा, नागरिकको सुरक्षा, सार्वजनिक सम्पत्ति तथा महत्त्वपूर्ण संरचनाको सुरक्षा, विपद् व्यवस्थापन र प्रतिकार्य सुनिश्चित गर्दै शान्तिपूर्ण वातावरण सिर्जना गर्न यो योजना ल्याइएको हो।सुरक्षा व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलले २८ हजार १ सय २६ जनशक्ति परिचालन गरेको छ भने ४ हजार ५ सय जनशक्ति तत्काल खटाउन सक्ने गरी युनिटमा तयारी अवस्थामा राखिएको छ। चाडपर्वका समयमा सीमावर्ती इलाका र अन्य स्थानमा अप्रिय घटना हुन नदिन आवश्यक स्रोतसाधन तथा प्रविधिसहित सुरक्षा तैनाथी बढाइएको छ। सीमा इलाकामा हुने अपराध न्यूनीकरण गर्दै नागरिक तथा पर्यटकको सहज आवागमनको व्यवस्था मिलाइएको छ।
उद्धार कार्यमा सहयोग पुर्याउन भारत र चीनतर्फका समकक्षी सुरक्षा निकायहरूसँगको समन्वयमा १ सय ४१ स्थानमा नागरिक सहायता कक्ष, १६ स्थानमा नागरिक स्वास्थ्य कक्ष र १३ स्थानमा पर्यटक सहायता कक्ष स्थापना गरिएका छन्। झापाको काँकडभिट्टा, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया र बाँकेको जमुनाह नाकामा अवैध हातहतियार, विस्फोटक पदार्थ तथा लागूऔषध पहिचान गर्न तालिमप्राप्त स्निफिङ डग टोलीसमेत परिचालन गरिएको छ।मुख्य राजमार्गमा हुन सक्ने दुर्घटना न्यूनीकरण र उद्धारका लागि ३७ स्थानमा एम्बुलेन्ससहितको आकस्मिक उद्धार टोली र सातै प्रदेश एवं उपत्यकाका १६ स्थानमा मास क्याजुअल्टी भेइकल तैनाथ गरिएका छन्। विपद् प्रतिकार्यका लागि ५५ वटा अस्थायी मनसुन विपद् प्रतिकार्य बेस र १६ वटा स्थायी विपद् बेसहरूमा आवश्यक स्रोतसाधनसहित तालिमप्राप्त दक्ष जनशक्ति तयारी अवस्थामा राखिएको छ।
सुरक्षा योजना अन्तर्गत दैनिक ४ सय १५ स्थानमा पिकेट, ४ सय १८ स्थानमा चेक पोइन्ट, ६ सय १ वटा पैदल गस्ती, ५ सय ५५ वटा मोबाइल गस्ती, १ सय ८२ वटा लामो दुरीको गस्ती, १ सय ४६ वटा क्युआरटी, १४ वटा बम डिस्पोजल टोली, ३७ वटा एम्बुलेन्स, २ सय ५१ वटा विपद् उद्धार टोली र ११ स्थानमा गोताखोर टोली २४सै घण्टा खटिने छन्। सीमा क्षेत्रमा दैनिक ५ सय ४ वटा नाका पिकेट, ४२ वटा लिङ्क पेट्रोल र ६ वटा बोर्डर इन्टरयाक्सन टिम परिचालन गरिएको छ। साथै, आवश्यकताका आधारमा समकक्षीसँग ९ सय २४ वटा संयुक्त सीमा गस्ती सञ्चालन गर्ने योजना छ।सुरक्षा निगरानीका लागि २१ वटा ड्रोन तथा सीमा नाकाका महत्त्वपूर्ण स्थानमा जडान गरिएका ४ सय १२ सीसीटीभी क्यामेरामार्फत २४सै घण्टा अनुगमन भइरहेको छ। सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनका लागि देशभर ९४ वटा अनुगमन ड्युटी टोली खटाइने छ। आपत्-विपद्मा परेका नागरिकले सहयोगका लागि टोल फ्री नम्बर १११४ र सीमा हटलाइन नम्बर ९८५१२६०७३० मा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको सशस्त्र प्रहरी नायव महानिरीक्षक एवं प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिएका छन्।




.gif)





