काठमाडौँ । ‘निम्स दाइ’ का नामले चर्चित पर्वतारोही निर्मल पुर्जाको सेयर रहेको मुस्ताङ हेलिकोप्टर प्रा.लि.को सेयर बिक्री तथा हक हस्तान्तरण काठमाडौँ जिल्ला अदालतले रोक्का गरेको छ ।अदालतको फैसला बमोजिम घरधनीको क्षतिपूर्ति नतिरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले निम्स दाइको सेयर बिक्री तथा हक हस्तान्तरण रोक्का राखेको हो । आरोही पुर्जाको साउन १६ मा पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणको क्रममा हिमपहिरोमा परी निधन भएको थियो ।
भाडावालले अनधिकृत रूपमा भण्डारण गरेको एलपी ग्यास र अक्सिजन सिलिण्डरको भयानक विस्फोटबाट पूर्ण रूपमा क्षति भएको काठमाडौँ कपनस्थित घरका घरधनी टङ्क घिसिङ र दालमु कित्तर घिसिङलाई फैसलाले तोकिएको क्षतिपूर्ति नतिरेको अभियोगमा अदालतले यस्तो आदेश दिएको अधिवक्ता अनन्तराज लुइँटेलले जानकारी दिए ।अधिवक्ता लुइँटेलले घिसिङ दम्पतीलाई कानुनी सल्लाह उपलब्ध गराइरहेका छन् । निम्स दाइ लि. लण्डनको नाममा मुस्ताङ हेलिकोप्टर प्रा.लि.मा सेयर रहेको कम्पनी रजिस्ट्रारको कार्यालयको लगतमा उल्लेख छ । निम्स दाइको मृत्युपछि मुस्ताङ हेलिकोप्टर प्रालिको हेलिकोप्टर बिक्रीमा रहेको सार्वजनिक रूपमा चर्चा चलिआएको छ ।
कम्पनी रजिस्ट्रारको कार्यालयले उक्त हेलिकोप्टर रोक्का रहेको काठमाडौँ जिल्ला अदालतलाई पत्रमार्फत जानकारी गराइसकेको छ । दुई वर्ष अघिको काठमाडौँ जिल्ला अदालतको फैसला उच्च अदालत पाटनले सदर गरिदिएपछि घिसिङ दम्पती फैसलाले तोकेको एक करोड चौध लाखको क्षतिपूर्तिको दाबीसहित फैसला कार्यान्वयनको प्रक्रियामा छन् भने निम्स दाइको कम्पनी जिल्ला र उच्च अदालत पाटनको फैसलाको विरुद्धमा सर्वोच्च अदालतमा पुगेको छ ।काठमाडौँ कपनस्थित राममन्दिर लसुनटारमा रहेको विस्फोटमा परेको घिसिङ दम्पतीको घरमा निम्स दाइको कम्पनी इलाइट हिमालयन एडभेन्चर प्रा.लि.ले अनधिकृत भण्डारण गरेको अक्सिजन ग्यास सिलिण्डर विस्फोटबाट २०७९ असोज ५ मा घिसिङ दम्पतीको घर पूर्णरुपमा ध्वस्त भएको थियो । इलाइट हिमालयन एडभेञ्चर प्रा.लि.का अन्य सञ्चालकहरू मिङ्मा ग्याबु शेर्पा भन्ने मिङ्मा डेभिड शेर्पा र मिङ्मा तेन्जी शेर्पा समेत सो मुद्दामा प्रतिवादी छन् । मिङ्मा ग्यावु शेर्पा भने र राष्ट्रिय स्वतन्त्र पार्टीको ताप्लेजुङ जिल्लाका समानुपातिक सांसद छन् ।साबिक कपन गा.वि.स. वडा नं. ५ को हाल बुढानीलकण्ठ नगरपालिका वडा नं. ११ को कित्ता नम्बर १४५ को एक रोपनी जग्गामा बनेको साढे दुई तले आरसीसी पक्की घर निम्स दाइको कम्पनीले भाडामा लिई कार्यालय सञ्चालन गरेको थियो ।




.gif)





