काठमाडौँ । सरकारले ‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली’मा संशोधन गरेको छ । सरकारले नियमावलीमा संशोधन गरेर ‘धितोपत्र दर्ता तथा निष्काशन (आठौं संशोधन) नियमावली, २०८३’ जारी गरेको हो । उक्त संशोधन अनुसार गैरआवासीय नेपाली (एनआरएन) लाई नेपालको प्राथमिक सेयर बजारमा प्रत्यक्ष जोड्ने ढोका खुलेको छ । संशोधित नियमावलीअनुसार यस्तो व्यवस्थाअन्तर्गत सेयर निष्काशन गर्ने कम्पनीले आफ्नो जारी पूँजीको न्यूनतम १० प्रतिशतदेखि अधिकतम ८५ प्रतिशतसम्म सेयर निष्काशन गर्न सक्नेछन् । यसले एनआरएन लगानीकर्तालाई लक्षित गरेर पूँजी उठाउन चाहने कम्पनीका लागि प्राथमिक बजारमा छुट्टै अवसर सिर्जना गर्ने छ । तर, यस्तो सेयर निष्काशनमा प्रिमियम भने थप गर्न पाइने छैन ।
त्यस्तै कम्पनीले अंकित मूल्यभन्दा बढी रकम लिएर यस्तो सेयर निष्काशन गर्न पाउने छैन । संशोधित नियमावलीमा यस्ता सेयरको दोस्रो बजार कारोबारसमेत छुट्टै प्रणालीमार्फत हुने व्यवस्था गरिएको छ । धितोपत्र बजारले तोकेको प्रणालीअनुसार कारोबार हुने यस्तो सेयरको न्यूनतम कारोबार इकाई १ हजार कित्ता रहनेछ ।सरकारले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११६ ले दिएको अधिकार प्रयोग गरी नियमावली संशोधन गरेको हो । नयाँ व्यवस्था नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तोकेको मितिदेखि लागू हुनेछ । यो नयाँ व्यवस्थाले एनआरएनका लागि नेपालमा लगानीको दायरा विस्तार गर्नुका साथै विदेशमा रहेको नेपाली पूँजीलाई घरेलु पूँजी बजारमार्फत परिचालन गर्ने सम्भावना बढाएको छ ।





.gif)



