जनकपुरधाम । हिन्दु धर्मावलम्बीहरूको महान चाडपर्व दसैँ, तिहार र छठलाई लक्षित गर्दै मधेस प्रदेशमा प्रहरीले विशेष सुरक्षा योजना लागु गरेको छ ।मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार विशेष सुरक्षा योजना अन्तर्गत चाडपर्वका बेला हुने भिडभाड, सवारी चाप, सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा चोरी–लुटपाट नियन्त्रण गर्न प्रदेशका आठ वटै जिल्लामा विशेष सुरक्षा योजना लागु गर्दै ७ हजार २२९ प्रहरी परिचालन गरिने भएको छ ।चाडपर्वमा मानिसको आवतजावत बढ्ने भएकाले प्रहरीले सडकदेखि सीमा नाकासम्म निगरानी बढाउने योजना बनाएको छ । राजमार्ग तथा मुख्य सडकमा सवारी चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती र स्कर्टिङ सञ्चालन गर्दै यात्रुलाई आवश्यक सहयोगका लागि ६४ स्थानमा यात्रु सहायता कक्ष राखिने मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रभु प्रसाद ढकालले बताए ।
उनका अनुसार चाडपर्वको क्रममा कुनै अपराधिक गतिविधि हुन नदिन भारतसँग जोडिएका सीमा नाकामा पनि विशेष निगरानी बढाइने छ । चाडपर्वका बेला मानिसको आवतजावत बढ्ने र खुला सीमाको फाइदा उठाउँदै चोरी–तस्करी तथा अवैध सामान ओसारपसार हुन सक्ने भएकाले सीमा क्षेत्रमा थप कडाइ गरिने उनले बताए ।धार्मिक तथा पर्यटकीय स्थल, बजार र भिडभाड हुने क्षेत्रमा चोरी, पाकेटमारी तथा मानिस हराउने घटना रोक्न पनि विशेष निगरानी गर्ने प्रहरीले जनाएको छ । सुरक्षा योजनाअन्तर्गत ३३९ स्थानमा पिकेट, १८० स्थानमा पैदल गस्ती र ८६ वटा मोबाइल गस्ती सञ्चालन गरिने जनाइएको छ । छठका बेला नदी, पोखरी तथा अन्य जलाशयका घाटमा ठुलो भिड लाग्ने भएकाले डुब्ने तथा भिडजन्य दुर्घटना रोक्न पनि विशेष सुरक्षा रणनीति बनाइएको प्रहरीले जनाएको छ ।
चाडपर्वमा जुवा, तास तथा अवैध सट्टेबाजी बढ्न सक्ने भएकाले प्रहरीले त्यस्ता गतिविधिमाथि निगरानी गर्नुका साथै पटाका तथा आतिशबाजीबाट हुन सक्ने आगलागी, मादक पदार्थ सेवनबाट हुने झैझगडा, कुटपिट तथा घरेलु हिंसा नियन्त्रणमा पनि विशेष रणनीति अपनाउने प्रदेश प्रहरी कार्यालयको भनाइ छ । देउसी–भैलो, सांस्कृतिक कार्यक्रम तथा डिजेका कारण रातिको समयमा शान्ति–सुरक्षामा समस्या आउन सक्ने भन्दै प्रहरीले त्यस्ता गतिविधिमा समेत निगरानी गर्ने भएको छ । धार्मिक कार्यक्रममा जुलुस वा ध्वनि प्रयोगका कारण स्थानीय विवाद तथा सामाजिक तनाव उत्पन्न हुन सक्ने अवस्थालाई पनि सुरक्षा चुनौतीका रूपमा लिँदै विशेष सुरक्षा तयारी गरिएको प्रवक्ता पोखरेलको बताए ।त्यस्तै, सम्भावित आगलागी, विद्युत् सर्ट, भिडजन्य दुर्घटना तथा अन्य आकस्मिक घटनाका लागि विपद् प्रतिकार्य टोली तयारी अवस्थामा राखिने उनको भनाइ छ । सुरक्षा योजनामा ९२ वटा क्विक रेस्पोन्स टिम तयारी अवस्थामा राखिने भएको छ । कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि, अवैध मदिरा तथा लागुऔषधको कारोबार नियन्त्रणमा पनि प्रहरीले सक्रियता बढाउने भएको छ ।
त्यस्तै सामाजिक सञ्जालमार्फत फैलाइने अफवाह तथा गलत सूचनाले सामाजिक तनाव निम्त्याउन सक्ने भएकाले त्यसतर्फ पनि प्रहरीले निगरानी बढाउने जनाएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै चाडपर्वका बेला हुने सम्भावित चोरी, लुटपाट, दुर्घटना, झैझगडा तथा अन्य आपराधिक गतिविधि रोक्न नियमित ड्युटीबाहेक संयुक्त गस्ती, सादा पोशाकमा सूचना सङ्कलन र आकस्मिक ड्युटीमा समेत परिचालन गरिने मधेस प्रदेश प्रहरीले जनाएको छ ।प्रदेश प्रहरीका अनुसार आठ जिल्लामध्ये सबैभन्दा धेरै प्रहरी धनुषामा १ हजार ५९९, बारामा ८७०, सप्तरीमा ८५७, रौतहटमा ८६३, सर्लाहीमा ७९२, महोत्तरीमा ७४७, पर्सामा ६६१ र सिरहामा ६५१ जना प्रहरी परिचालन गरिने भएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा थप १८९ जनशक्ति परिचालन गरिने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यो सुरक्षा विशेष योजना असोज २९ गतेदेखि कात्तिक ३० गतेसम्म लागु रहने छ ।




.gif)





