काठमाडौँ। सार्क–जापान विशेष कोषअन्तर्गत ‘जेनेसिस २०२६’ कार्यक्रम सञ्चालनका लागि काठमाडौँस्थित जापानी दूतावास र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) बिच थप सम्झौता पत्रमा हस्ताक्षर भएको छ। यस कार्यक्रमका लागि जापान सरकारले ३ करोड ४६ लाख ७ हजार जापानी येन उपलब्ध गराउने निर्णय गरेको हो।सम्झौता पत्रमा सार्कका महासचिव एमडी गोलाम सरवार र नेपालका लागि जापानी राजदूत माएदा तोरुले बुधबार हस्ताक्षर गरेका हुन्। जापान सरकारको वित्तीय सहयोगमा सञ्चालित यो सम्झौता लामो समयदेखि सञ्चालनमा रहेको जेनेसिस युवा आदानप्रदान कार्यक्रमको निरन्तरता हो।
जेनेसिस २०२६ कार्यक्रमअन्तर्गत सन् २०२६ भित्र सार्क सदस्य राष्ट्रका करिब ४० जना युवालाई विपद् व्यवस्थापन र जलवायु परिवर्तन सम्बन्धी विषयमा अध्ययन तथा अवलोकनका लागि जापान लैजाने कार्यक्रम छ। स्वदेश फर्किएपछि ती युवाले जापानमा सिकेका उत्कृष्ट अभ्यासहरूलाई आफ्ना देशमा जलवायु अनुकूलन र विपद् पूर्वतयारीका लागि प्रयोग गर्ने अपेक्षा गरिएको छ।जापान सरकारद्वारा सार्क सचिवालयको सहयोगमा सञ्चालित जेनेसिस कार्यक्रमले सार्क राष्ट्रका युवाहरूलाई जापानको विकास मोडल, आर्थिक प्रगति, आधुनिक प्रविधि, समृद्ध सांस्कृतिक परम्परा र सामाजिक मूल्यमान्यताबारे प्रत्यक्ष अनुभव हासिल गर्ने अवसर प्रदान गर्दै आएको छ।




.gif)



