चितवन। काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी भार बोकेका सवारीसाधनको निगरानी गर्ने एकमात्र तौल स्टेसन तीन महिनादेखि बिग्रिएको छ ।भरतपुर महानगरपालिका–१ आँपटारीस्थित तौलपुल स्टेसन बिम भाँचिएर असार १२ देखि सञ्चालनमा नहुँदा सडक सुरक्षामा थप जोखिम बढेको छ ।तौल गर्न नपाउँदा बढी भार बोकेका सवारीसाधनको आवागमनमा नियन्त्रण कमजोर भएको स्टेसनका कम्प्युटर अपरेटर सरोज रानाले बताए ।
तौल स्टेसन सञ्चालनमा हुँदा निर्धारित क्षमताभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनमाथि कारबाही हुने गरेको थियो । अहिले स्टेसन बिग्रिएपछि सडक सुरक्षासँगै सडकको आयु र यात्रुको सुरक्षामा समेत थप चुनौती देखिएको छ ।नारायणगढ–मुग्लिन सडकखण्डमा पछिल्लो समय सडक भासिने तथा जोखिमयुक्त स्थान थपिँदै गएका छन् । सिमताल क्षेत्रमा सडक भासिएपछि यातायात एकतर्फी सञ्चालन गर्नुपरेको थियो । यसले यात्रु तथा सर्वसाधारणले लामो समयदेखि सास्ती खेप्नुपरेको छ ।तौल स्टेसन सञ्चालनमा हुँदा यहाँ ट्राफिक प्रहरीको समेत नियमित उपस्थिति रहने गरेको थियो । स्टेसनमा प्रहरीको पोस्टिङका लागि समेत प्रतिस्पर्धा हुने गरेको भएपनि अहिले स्टेसन नै सञ्चालनमा नहुँदा ट्राफिक प्रहरीको उपस्थिति हटेको छ ।
नारायणगढ–मुग्लिन सडकमा दुर्घटना न्यूनीकरण तथा बढी भार बोकेका सवारीसाधन नियन्त्रण गर्ने उद्देश्यले सरकारले २०७७ सालमा एक करोड २१ लाख ७३ हजार ६६५ रुपैयाँ लागतमा तौलपुल निर्माण गरेको थियो।८० टन क्षमताको १८ मिटर लामो तौलपुल स्टेसनमा भार क्षमता मापन गर्न इलेक्ट्रो–मेकानिकल कन्ट्रोल रूमको व्यवस्था थियो।




.gif)





