विराटनगर । भन्सार शुल्क छली गरी नेपालमा लुकाएर राखिएका दुई भारतीय नम्बर प्लेटका सवारीसाधन मोरङको विराटनगरबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म मुख्यालय रानी, मोरङबाट खटिएको टोलीले विराटनगर महानगरपालिका–१५ चौधरी टोलबाट भारतीय नम्बर प्लेटका महिन्द्रा स्कोर्पियो र केटीएम ड्युक ३९० सीसी मोटरसाइकल नियन्त्रणमा लिएको हो।सशस्त्र प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश शर्माको कमान्डमा खटिएको टोलीले बुधबार गोप्य सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा चौधरी टोलस्थित ओमप्रकाश शाहको घरअगाडि पार्किङ गरिएको बीआर ११ डब्लू ३३०७ नम्बरको महिन्द्रा स्कोर्पियो फेला पारेको थियो।
प्रारम्भिक जाँचका क्रममा उक्त सवारीसाधन भन्सार शुल्क नतिरी नेपालमा लुकाएर राखिएको अवस्थामा फेला परेपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।त्यसैगरी, शाहकै घरको पार्किङस्थलमा बीआर ०७ एई ६५८४ नम्बरको केटीएम ड्युक ३९० सीसी मोटरसाइकलसमेत लुकाएर राखिएको अवस्थामा फेला परेको थियो।प्रारम्भिक सूचनाअनुसार दुवै सवारीसाधन भारतबाट विभिन्न समयमा अवैध मालवस्तु नेपाल भित्र्याउने तथा ओसारपसार गर्ने कार्यमा प्रयोग हुँदै आएका थिए। गोप्य सूचनाका आधारमा गरिएको चेकजाँचबाट ती सवारीसाधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार ओमप्रकाश शाहले ती सवारीसाधन तस्करी तथा अवैध मालवस्तु ओसारपसारमा प्रयोग गर्ने गरेको सम्बन्धमा यसअघि पनि सुरक्षा निकायमा सूचना प्राप्त हुँदै आएको थियो।
नियन्त्रणमा लिइएका दुवै सवारीसाधन आवश्यक अनुसन्धान तथा कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा दाखिला गरिएको छ। भन्सार कार्यालयले दुवै सवारीसाधनको कुल मूल्याङ्कन ४२ लाख ५० हजार रुपैयाँ कायम गरेको छ।यसअघि पनि सोही क्षेत्र आसपास चेकजाँचका क्रममा सशस्त्र प्रहरी कर्मचारीको मोटरसाइकललाई ठक्कर दिएर फरार भएको घटना भएको थियो। उक्त घटनामा नवराज साह पक्राउ परे पनि ओमप्रकाश साह फरार रहेको जनाइएको छ।रानी सीमा नाकाबाट हुने तस्करीसँग जोडिएका व्यक्तिका रूपमा ओमप्रकाश, नवराज र गणेशको नाम सुरक्षा निकायमा चर्चामा रहने गरेको स्रोतको दाबी छ।छिल्लो घटनाले भारतीय नम्बर प्लेटका सवारीसाधनलाई आवश्यक भन्सार प्रक्रिया पूरा नगरी नेपालमा लुकाएर राख्ने तथा सीमापारबाट अवैध मालवस्तु ओसारपसारमा प्रयोग गर्ने प्रवृत्तिप्रति सुरक्षा निकायको निगरानी बढेको देखाएको छ




.gif)





