images

२०८३ आश्विन १५ गते

images
images
images
  • स्वास्थ्य
  • ६ महिनापछि क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा...

६ महिनापछि क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा सुचारु, बिरामीलाई ठूलो राहत

६ महिनापछि क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा सुचारु, बिरामीलाई ठूलो राहत

images
images
बुधवार, आश्विन १४ २०८३
बुधवार, आश्विन १४ २०८३
  • बाँके ।  करिब छ महिनादेखि बन्द रहेको बाँकेको खजुरा गाउँपालिका–४ स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको रेडियोथेरापी सेवा पुनःसञ्चालनमा आएको छ ।अस्पतालमा जडान गरिएका लिनियर एक्सिलरेटर (लिन्याक) र ब्रेकिथेरापी मेसिन मर्मतपछि सञ्चालन गरिएकाले क्यान्सरका बिरामीले लामो समयदेखि भोग्दै आएको उपचारसम्बन्धी समस्या कम भएको छ ।क्यान्सर उपचारका लागि आवश्यक पर्ने रेडियोथेरापी सेवा बन्द हुँदा धेरै बिरामीलाई अन्य अस्पताल तथा स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता थियो । बिग्रिएका उपकरण मर्मत गरी सेवा पुनःसञ्चालन गरिएपछि अस्पतालबाटै नियमित रूपमा रेडियोथेरापी उपचार लिन सकिने अस्पताल प्रशासनले जनाएको छ ।

    images
    images

    अस्पतालका सूचना अधिकारी डा. प्रवीणकुमार गुप्ताका अनुसार लामो समयदेखि सञ्चालनमा आउन नसकेका लिन्याक र ब्रेकिथेरापी मेसिनको आवश्यक मर्मतपछि यसै सातादेखि दुवै उपकरण सञ्चालनमा ल्याइएको हो । “क्यान्सर उपचारमा रेडियोथेरापी महत्वपूर्ण उपचार विधि हो । उपकरणमा आएको प्राविधिक समस्याका कारण लामो समय सेवा प्रभावित भए पनि मर्मतपछि अहिले सेवा पुनःसञ्चालनमा आएको छ”, उनले बताए ।लिन्याक नामक उपकरणले क्यान्सर प्रभावित भागमा आवश्यक मात्रामा विकिरण केन्द्रित गरी उपचार गर्न सहयोग गर्छ । त्यसबाट शरीरको प्रभावित भागमा लक्षित रूपमा विकिरण दिइने भएकाले क्यान्सर उपचारमा त्यसको महत्वपूर्ण भूमिका हुन्छ ।त्यस्तै, ब्रेकिथेरापीमा पनि प्रभावित स्थानको नजिकै विकिरणका स्रोत राखेर उपचार गरिने डा. गुप्ताले बताए । दुवै प्रविधि क्यान्सरका विभिन्न अवस्थाका बिरामीको उपचारमा प्रयोग हुने भएकाले उपकरण सञ्चालनमा आउनुलाई अस्पतालले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको अस्पतालका निर्देशक डा. नीरज भट्टराईले बताए ।

    उनका अनुसार रेडियोथेरापीका दुवै उपकरण सञ्चालनमा आएपछि बिरामीलाई अन्य अस्पतालमा जानुपर्ने अवस्था धेरै हदसम्म अन्त्य भएको छ । उक्त अस्पताल पछिल्लो समय पश्चिम नेपालका क्यान्सर बिरामीका लागि उपचारको महत्वपूर्ण केन्द्रका रूपमा रहेको छ । अस्पतालमा रेडियोथेरापीबाहेक किमोथेरापी, क्यान्सरसम्बन्धी शल्यक्रिया, सिटीस्क्यान, म्यामोग्राफी तथा भिडियो एक्सरेलगायतका सेवा उपलब्ध छन् ।क्यान्सर उपचारका क्रममा गम्भीर अवस्थामा पुगेका बिरामीको उपचारलाई ध्यानमा राखेर अस्पतालमा सघन उपचार कक्ष, भेन्टिलेटर तथा बिरामीको निरन्तर निगरानीको व्यवस्था रहेको अस्पतालले जनाएको छ । विभिन्न प्रकारका परीक्षण तथा उपचार सेवा एउटै अस्पतालबाट उपलब्ध हुन थालेपछि बाँकेसहित पश्चिम नेपालका अन्य जिल्लाका बिरामीलाई उपचारमा सहजता भएको अस्पतालको भनाइ छ ।

    images
    images

    रेडियोथेरापी सेवा लामो समय बन्द हुँदा उपचारका लागि अस्पतालमा आउने बिरामीलाई थप खर्च, समय र आवतजावतको समस्या हुने गरेको थियो । दुवै उपकरण सञ्चालनमा आएपछि क्यान्सर उपचारका लागि बाहिरी जिल्लाबाट खजुरा आउने बिरामीलाई सुविधा पुग्ने अपेक्षा गरिएको छ ।अस्पतालका सूचना अधिकारी डा. गुप्ताका अनुसार रेडियोथेरापी सञ्चालनमा आएसँगै अब क्यान्सरका बिरामीलाई काठमाडौँ, भक्तपुर, चितवन र भरतपुर जानुपर्ने बाध्यता हटेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend