काठमाडौँ । नेपाल बार एसोसिएसनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षा चुनौती भन्दै असोज १० गते मध्यरातमा गरिएको सुरक्षा नियन्त्रणप्रति आपत्ति जनाएको छ ।नेपाल बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले सोमबार जारी गरेको विज्ञप्तिमा पर्याप्त आधार र कारणबिना कुनै पनि नागरिकलाई नियन्त्रणमा लिनु संविधान, कानुनी शासन र लोकतान्त्रिक शासन प्रणालीविपरीत हुने उल्लेख छ ।
पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिइएको घटनालाई नेपाल बारले ‘रहस्यमय र सन्देहात्मक’ भनेको छ । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिलाई समेत भेटघाट गर्न नदिनुले घटनाको गम्भीरता बढाएको बारको भनाइ छ ।नेपाल बारले सरकार स्वेच्छाचारी र अनुदारवादतर्फ ढल्किरहेको आरोप लगाउँदै विचार तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएका घटनाको विरोध गरेको छ । आधार, कारण र प्रमाणबिना कुनै पनि नागरिकलाई पक्राउ गर्ने लगायतका कार्य नगर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।न्यायपालिकामा हुने विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध न्यायिक सुशासनका पक्षमा निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै बारले न्यायपालिका स्वच्छ र भ्रष्टाचारमुक्त हुनुपर्ने जनाएको छ । सरकार, राजनीतिक नेता वा न्यायपालिकाका पूर्वपदाधिकारीबाट न्यायपालिकाको स्वच्छता र स्वतन्त्रताविरुद्ध हुने हस्तक्षेपको प्रतिवाद गर्ने पनि बारले जनाएको छ ।
त्यस्तै, विचाराधीन मुद्दामामिलामा सेवानिवृत्त प्रधानन्यायाधीश, न्यायाधीश वा अन्य कसैले कुनै प्रकारको हस्तक्षेप, चासो, सरोकार वा छलफल नगर्न कानुनी तथा आचारसंहिताको व्यवस्था पालना गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।नेपाल बारले संवैधानिक इजलास वरिष्ठता वा गोलाप्रथाबाट गठन गर्ने व्यवस्था अविलम्ब गर्न प्रधानन्यायाधीशसमक्ष पुनः आग्रह गरेको छ । न्यायपालिकाको स्वच्छता र शुद्धताका लागि चालिने हरेक कदममा आफ्नो साथ र सहयोग रहने पनि बारले जनाएको छ ।




.gif)





