images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • बाढी–पहिरो प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको उद्धार...

बाढी–पहिरो प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको उद्धार अभियान तीव्र, सयौँ नागरिक सुरक्षित स्थानमा

बाढी–पहिरो प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको उद्धार अभियान तीव्र, सयौँ नागरिक सुरक्षित स्थानमा

images
images
आइतवार, आश्विन ११ २०८३
आइतवार, आश्विन ११ २०८३
  • काठमाडौँ। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, डुबान तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार र सुरक्षित स्थानान्तरणमा सशस्त्र प्रहरी बल नेपाल सक्रिय रूपमा परिचालित भएको छ।सशस्त्र प्रहरीले जोखिममा परेका नागरिकको उद्धार गर्नुका साथै उनीहरूका घरायसी सामान सुरक्षित स्थानमा सार्ने, पहिरो पन्छाउने तथा बाढी नियन्त्रणका लागि तटबन्ध निर्माण गर्ने कार्यसमेत गरिरहेको छ।चितवनको भरतपुर महानगरपालिका–१६, झनझने गुम्बाचोकस्थित नारायणी नदीमा आएको बाढीका कारण घरको छतमा आश्रय लिएर बसेका ६ जनालाई असोज ११ गते बिहान सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। नदीमा पानीको बहाव बढेपछि डुबानमा परेका थप ३ घरपरिवारका सामानसमेत सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उद्धार तथा राहत कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १० गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा टोली परिचालन गरिएको छ।

    images
    images

    धनुषाको मिथिला नगरपालिका–११, बर्दिवासस्थित सिन्धुली सडकखण्ड नजिकैको आँपगाछीमा वर्षाका कारण आएको पहिरोमा परी करिब ४२ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको छ। पहिरोमा पुरिएकी श्रेष्ठको शव सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा पहिरो पन्छाएर निकालिएको हो। उनका परिवारका अन्य चार जना भने सकुशल रहेका छन्।यसैगरी पाल्पाको माथागढी नगरपालिका–३, भैँसेकट्टामा असोज १० गते राति अविरल वर्षापछि गएको पहिरोमा तीनवटा घर पुरिएका छन्। घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गुल्म पाल्पाबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा टोली परिचालन गरी जेसीबीको सहयोगमा पहिरो पन्छाउने कार्य भइरहेको छ।

    अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७, भुजुङ्गेमा वर्षाका कारण पहिरोको उच्च जोखिममा रहेका करिब २८ घरपरिवारका ८५ जनालाई असोज १० गते सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उनीहरूलाई वडा कार्यालय तथा बहुउद्देश्यीय सामुदायिक भवनमा राखिएको छ।त्यस्तै, बर्दियाको गुलरिया नगरपालिका–८, टपरा गाउँस्थित सर्जु खोलामा आएको बाढीका कारण सुकुम्बासी बस्ती डुबानमा परेपछि त्यहाँका १५ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट कट्टीबाट खटिएको टोलीले उनीहरूलाई सुरक्षित स्थानमा सारेको हो।पश्चिम नवलपरासीको सुस्ताका विभिन्न क्षेत्रमा नारायणी नदीको बहाव बढेर डुबानमा परेका सयौँ नागरिकलाई होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ। सोही जिल्लाको सरावल गाउँपालिका–७, बर्गदवामा खजुरा खोलाको बाढी गाउँमा पस्न नदिन सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भुजहवाबाट खटिएको टोलीले बोरामा माटो भरेर अस्थायी तटबन्ध निर्माण गरेको छ।

    images
    images

    रूपन्देहीको जितगढी क्षेत्रका विभिन्न स्थानमा जोखिममा रहेका नागरिकलाई सुरक्षा बेस बुटवलबाट परिचालित सशस्त्र प्रहरी टोलीले विद्यालय भवनमा सुरक्षित स्थानान्तरण गरेको छ। तिनाउ खोलाको कटान क्षेत्रमा समेत सशस्त्र प्रहरी टोली परिचालन गरी सुरक्षा तथा आवश्यक उद्धारको प्रबन्ध मिलाइएको छ।यसैगरी म्याग्दीको बेनीस्थित फोटिया टोलमा पहिरोको जोखिममा रहेका घरपरिवारलाई गलेश्वर मन्दिरको आश्रममा सुरक्षित रूपमा स्थानान्तरण गरिएको छ। वर्षाका कारण प्रभावित अन्य क्षेत्रमा समेत सशस्त्र प्रहरीका उद्धार टोलीहरू निरन्तर परिचालित भइरहेका छन्।अविरल वर्षाका कारण उत्पन्न बाढी, डुबान र पहिरोको जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा जनधनको सुरक्षा, उद्धार, सुरक्षित स्थानान्तरण र विपद् व्यवस्थापनका कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend