काठमाडौँ । वीरगञ्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा अध्ययनरत आवासीय चिकित्सक र कलेज प्रशासनबिचको विवाद गम्भीर मोडमा पुगेको छ ।राष्ट्रिय चिकित्सा शिक्षा आयोग र त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानको म्याचिङ प्रक्रियाबाट भर्ना भई आएका नवनियुक्त तथा कार्यरत चिकित्सकहरूले कलेज प्रशासनले गैरकानुनी र विवादास्पद नीतिहरू लागु गरेको भन्दै आन्दोलन चर्काएका हुन् ।अनिवार्य रूपमा छात्रावास, मेस र वाइफाइ प्रयोग गर्नुपर्ने, बायोमेट्रिक हाजिर एकपटक छुटे दिनभरकै अनुपस्थित जनाई स्टाइपेन्ड (भत्ता) रोक्ने र शैक्षिक प्रमाणपत्रहरू कलेज प्रशासनले आफ्नो नियन्त्रणमा राख्ने जस्ता प्रावधानविरुद्ध चिकित्सकहरू आन्दोलित बनेका हुन् ।विवादको सुरुआत भर्ना प्रक्रियालगत्तै कलेज प्रशासनले पूर्वसहमति विपरीत कार्यान्वयनमा ल्याएका कडा नीतिहरूबाट भएको एक आवासीय चिकित्सकले बताए ।
यसअघि जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा छात्रावास, मेस र वाइफाइ ऐच्छिक बनाउने सहमति भए पनि कलेजले त्यसलाई एकतर्फी रूपमा हटाएर अनिवार्य गरेको आवासीय चिकित्सकहरूको दाबी छ ।यस समस्या समाधानका लागि आवासीय चिकित्सकहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, चिकित्सा शिक्षा आयोग र त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान डीन कार्यालयलगायतका निकायहरूमा ४५ पृष्ठको विस्तृत निवेदनसहित ध्यानाकर्षण गराएका थिए ।तर, समाधानको पहल हुनुको साटो कलेजका प्रबन्ध निर्देशक सहनवाज अन्सारीले ७ जना प्रतिनिधि चिकित्सकहरूविरुद्ध पर्सा जिल्ला अदालतमा मानहानिको मुद्दा दर्ता गराएपछि स्थिति झन् तनावग्रस्त बनेको पिडित चिकित्सकहरू बताउँछन् ।विवाद समाधानका लागि विभिन्न चरणमा भएका प्रयासहरू ठोस निष्कर्षमा पुग्न सकेका छैनन् । कलेज प्रशासन र आन्दोलनरत चिकित्सकहरूबीच भएका वार्तामा सहमति पत्रको मस्यौदा आदानप्रदान भए पनि दुवै पक्षबीच कुरा नमिल्दा सहमति कायम हुन सकेन ।
यसैबिच कलेज प्रशासनले केही विषयमा सहमति भइसकेको भन्दै झुटो र किर्ते हस्ताक्षरयुक्त दाबी प्रस्तुत गरेको आरोप लगाउँदै चिकित्सकहरूले त्यसको विरोध गरेका छन् ।समस्या झन् जटिल बन्दै गएपछि ६५ जनाभन्दा बढी आवासीय चिकित्सकहरू वीरगञ्जबाट काठमाडौँ आई माइतीघरमा प्रदर्शन गर्नुका साथै सम्बन्धित मन्त्रालय र त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानको डीन कार्यालयमा पुगेर आफ्ना मागहरू पुनः प्रस्तुत गरेका छन् ।तर, कलेजले काठमाडौँ पुगेका प्रथम वर्षका चिकित्सकहरूलाई १२ घण्टाभित्र छात्रावास खाली गर्न निर्देशन दिँदै कलेज फर्कन दबाब दिएको थियो ।कलेजले दैनिक ३६ घण्टासम्म ड्युटी खटाउने, अनावश्यक हाजिरी काट्ने र स्वेच्छाचारी कारबाही गर्ने कार्य गरेको भन्दै आवासीय चिकित्सकहरूले ड्युटी समयको व्यवस्थापन, तोकिएको निर्वाह भत्ताको नियमित भुक्तानी र गैरकानुनी कारबाही फिर्ताको माग राखी गएको भदौ २९ गते प्रिन्सिपलको कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।दुई दिने अल्टिमेटमभित्र माग पूरा नभएपछि भदौ ३१ गतेदेखि अस्पताल परिसरमै धर्ना सुरु गरेका उनीहरूले असोज ३ गतेको वार्तामा माग सम्बोधन हुनुको सट्टा उल्टै धम्की दिएको आरोप लगाएका छन् ।
यसैबिच, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानले नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताललाई सहज रूपमा पठनपाठनको वातावरण बनाउन आग्रह गरेको छ ।त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान डिन प्राडा मोहनराज शर्माले बिहीबार नेशनल मेडिकल कलेजलाई पत्र पठाउँदै वर्तमान समस्यालाई मध्यनजर गर्दै सहज रूपमा पठनपाठनको वातावरण सिर्जना गर्न आग्रह गरेका हुन् ।संस्थानका सूचना अधिकारी निर्मल मिश्रले आईओएमले कलेजलाई पठाएको पत्र चिकित्सा शिक्षा आयोग र त्रिवि उपकुलपतिलाई बोधार्थ उपलब्ध गराइएको बताए ।
नेशनल मेडिकल कलेज भन्छः मानमर्दन हुने गतिविधि भयो
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले स्नातकोत्तर (पीजी) प्रथम वर्षमा अध्ययनरत केही आवासीय चिकित्सकले कलेजका शिक्षक, कर्मचारी र कलेजकै मानमर्दन हुने गरी गतिविधि गरेको आरोप लगाएको छ । आवासीय चिकित्सकहरूलाई कलेज परिसर र छात्रावास खाली गर्न भनेकोमा प्रतिकूल मौसमका कारण उक्त निर्णय स्थगित कलेज प्रशासनले जनाएको हो ।कलेजले सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय पर्साद्वारा जारी गरिएको प्रतिकल मौसम, भारी वर्षा तथा बाढी जोखिम सम्बन्धी सतर्कता सूचनालाई मध्य नजर गर्दै सम्बन्धित आवासीय चिकित्सकहरूको सुरक्षाका लागि यसअघि तोकिएको १२ घन्टाको समयसीमा हाललाई स्थगित गरिएको जनाएको छ । कलेजले अवस्था सामान्य भएपछि कलेज परिसर र छात्रावास खाली गर्ने नयाँ समयसीमा जारी गर्ने कलेज प्रशासनले जनाएको छ ।




.gif)





