काठमाडौँ । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक डा गोपीकृष्ण न्यौपानेले उद्योगको सञ्चालनगत चुनौती, सम्भावना तथा दीर्घकालीन दिगोपनामा केन्द्रित रहेर विद्यावारिधि (पीएचडी) गरेका छन्।
न्यौपानेले भारतको सिक्किमस्थित सिक्किम प्रोफेसनल युनिभर्सिटीबाट विद्यावारिधि उपाधि हासिल गरेका हुन्। एसोसिएट प्रोफेसर डा.नसिरुद्दीन मोलाको मार्गदर्शनमा उनले अनुसन्धान पूरा गरेका हुन्।
उनको शोधको शीर्षक ‘उदयपुर सिमेन्ट उद्योग लिमिटेडका सञ्चालनगत चुनौतीहरू तथा दिगोपनाको विश्लेषण’ रहेको छ। अनुसन्धानमा उद्योगले भोगिरहेका सञ्चालनगत समस्या, सम्भावना, व्यवस्थापकीय पक्ष तथा दीर्घकालीन दिगोपनाका विषयलाई केन्द्रमा राखिएको छ।
उद्योगसँग आफ्नो व्यावसायिक अनुभव र व्यक्तिगत प्रतिबद्धता जोडिएकाले अनुसन्धानको विषयका रूपमा उदयपुर सिमेन्टलाई छनोट गरेको डा.न्यौपानेले बताएका छन्। महाप्रबन्धकका रूपमा काम गरेको अनुभवले उद्योगका सञ्चालनगत वास्तविकता, चुनौती, सम्भावना तथा नेपालको औद्योगिक विकासमा उद्योगको भूमिकालाई नजिकबाट बुझ्ने अवसर दिएको उनको भनाइ छ।
उनका अनुसार अनुसन्धानको प्रमुख उद्देश्य उदयपुर सिमेन्ट उद्योगले सामना गरिरहेका सञ्चालनगत चुनौतीको अध्ययन गर्नु, दिगो सञ्चालनका सम्भावित मार्ग पहिचान गर्नु तथा उद्योगको पुनरुत्थान र सुदृढीकरणमा अनुसन्धानमार्फत योगदान पुर्याउनु हो।
‘अनुसन्धान केवल शैक्षिक दस्तावेज वा शोधपत्रमा सीमित रहनु हुँदैन । यसले व्यावहारिक समाधान र सकारात्मक परिवर्तनका लागि मार्गदर्शन गर्न सक्नुपर्छ,’ डा। न्यौपानेले भनेका छन्।
उदयपुर सिमेन्ट उद्योग नेपालको औद्योगिक विकाससँग जोडिएको महत्वपूर्ण प्रतिष्ठान भएकाले यसको सञ्चालन, उत्पादकत्व, व्यवस्थापकीय क्षमता, वित्तीय अवस्था तथा दीर्घकालीन दिगोपनाका विषयमा अध्ययन आवश्यक रहेको उनको धारणा छ।
अनुसन्धानका क्रममा उद्योगको वर्तमान अवस्था र सम्भावनाको विश्लेषण गर्दै दीर्घकालीन रूपमा सञ्चालनलाई प्रभावकारी बनाउने उपायहरू पहिचान गरिएको उनले बताएका छन्।
दैनिक १० हजार टनसम्म क्लिंकर उत्पादनको सम्भावना
अनुसन्धानमा उदयपुर सिमेन्ट उद्योगलाई पुनः प्रभावकारी रूपमा सञ्चालनमा ल्याई ‘गैँडा छाप’ ओपीसी सिमेन्टको उत्पादन तथा बिक्रीलाई निरन्तरता दिन सकिने सम्भावना औँल्याइएको छ।
त्यसैगरी उदयपुरका स्थानीय तह, सरकार तथा निजी क्षेत्रबाट लगानी जुटाएर सुकौरा खानी क्षेत्रमा दैनिक १० हजार टनसम्म क्लिंकर उत्पादन गर्न सकिने सम्भावना अनुसन्धानमा प्रस्तुत गरिएको छ।
अनुसन्धानमा उल्लेख भएअनुसार उक्त उत्पादन क्षमताको विकास गर्न सके राज्यलाई वार्षिक करिब ३ अर्ब रुपैयाँसम्म राजस्व प्राप्त हुने सम्भावना देखाइएको छ।
उद्योगको सञ्चालन तथा विस्तारबाट रोजगारीका अवसर थप हुनुका साथै स्वरोजगार वृद्धि र स्थानीय तहमा आर्थिक गतिविधि विस्तार हुने अपेक्षा पनि अनुसन्धानले गरेको छ। उद्योगको पुनरुत्थानले उदयपुर जिल्लाका आठवटै स्थानीय तहसहित समग्र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सक्ने निष्कर्ष अध्ययनमा प्रस्तुत गरिएको छ।
व्यावसायिक अनुभवलाई अनुसन्धानसँग जोडियो
उदयपुर सिमेन्ट उद्योगमा प्रत्यक्ष व्यवस्थापकीय अनुभव हासिल गरेका न्यौपानेले आफ्नो व्यावसायिक अनुभवलाई शैक्षिक अनुसन्धानसँग जोडेर अध्ययन गरेका हुन्।
विद्यावारिधिको यात्रा चुनौतीपूर्ण भए पनि परिवार, साथीभाइ, सहकर्मी, गुरुजन, अनुसन्धान मार्गदर्शक तथा शुभेच्छुकबाट प्राप्त निरन्तर साथ, सहयोग र हौसलाले आफूलाई प्रेरणा मिलेको उनले बताएका छन्।
विद्यावारिधि अध्ययन पूरा गरेको अवसरमा प्राप्त बधाई तथा शुभकामनाप्रति आभार व्यक्त गर्दै उनले प्राप्त हौसला आगामी अनुसन्धान यात्राका लागि प्रेरणाको स्रोत बन्ने बताएका छन्।
उद्योगसँगको प्रत्यक्ष व्यावसायिक अनुभवमा आधारित उक्त अध्ययनले उदयपुर सिमेन्ट उद्योगका वर्तमान सञ्चालनगत चुनौती पहिचान गर्नुका साथै दीर्घकालीन सञ्चालन, पुनरुत्थान र दिगोपनाका सम्भावित उपाय पहिल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।




.gif)





