जनकपुरधाम । मधेस प्रदेश सरकारले सशस्त्र प्रहरी बललाई २० थान मोटरसाइकल प्रदान गरेको छ।प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज एक कार्यक्रमबिच उक्त मोटरसाइकल हस्तान्तरण गरेको हो। गृहमन्त्री फकिरा महतोले सशस्त्र प्रहरी बलका डीआईजी विष्णुप्रसाद भट्टलाई मोटरसाइकलको साँचो एवं कागजपत्र हस्तान्तरण गरे।सीमा सुरक्षामा खटिँदै आएको सशस्त्र प्रहरीलाई अपराध नियन्त्रण, चोरी पैठारी रोक्न एवं विपद्पछिको उद्धारमा मद्दत होस् भनेर मोटरसाइकल हस्तान्तरण गरिएको गृहमन्त्री फकिरा महतोले बताए। उनले प्रहरीलाई आवश्यक साधनस्रोत उपलब्ध गराई सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउने प्रदेश सरकारको नीतिअनुरूप सवारीसाधन उपलब्ध गराएको बताए।
मधेस प्रदेशका अधिकांश जिल्लाहरू भारतसँग सीमा जोडिएका कारण चोरी पैठारी, भन्सार छली एवं तस्करी हुँदै आएको छ। भारतसँग सीमा जोडिएका जिल्लाहरूमा अहिले कडाइ गरिएपछि तस्करहरूले सीमावर्ती क्षेत्रका अधिकांश ग्रामीण भेगबाट तस्करी गर्ने गरेको जनगुनासो बढेपछि प्रहरीले त्यतातिर पनि सक्रियता बढाउँदा अहिले दिनहुँ अवैध सामग्रीहरू फेला पर्ने गरेका छन्।प्रदेशको गृह मन्त्रालयले बुधबार प्रदेशभरिका जिल्ला प्रहरी कार्यालयलाई हुने गरी ३५ थान मोटरसाइकल प्रदान गरेको थियो। मन्त्रालयका अनुसार १० थान मोटरसाइकल अझै आवश्यकता हेरेर अनुगमनपछि प्रदान गरिने जनाएको छ।




.gif)



