images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • अति भारी वर्षाको पूर्वानुमानपछि कास्कीमा उच्च...

अति भारी वर्षाको पूर्वानुमानपछि कास्कीमा उच्च सतर्कता, रात्री बस र पदयात्रा बन्द

अति भारी वर्षाको पूर्वानुमानपछि कास्कीमा उच्च सतर्कता, रात्री बस र पदयात्रा बन्द

images
images
बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  • पोखरा । जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षा हुने प्रक्षेपण गरेपछि कास्की जिल्लामा उच्च सतर्कता अपनाइएको छ । सम्भावित विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले यातायात, पर्यटन, विद्यालय तथा नागरिक गतिविधि सञ्चालनको मापदण्ड बनाएको हो ।बिहीबार बिहान जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि विभिन्न क्षेत्रगत निर्देशन दिइएको छ । मौसम खराब रहेको अवस्थामा कास्की जिल्लाबाट अन्य जिल्लाका लागि छुट्ने रात्रि बस तथा सवारी साधनहरू पूर्ण बन्द गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले जानकारी दिए ।

    images
    images

    यस्तै, जिल्लाभित्रका विभिन्न ग्रामीण भेगमा चल्ने सार्वजनिक तथा निजी सवारी साधनहरू दिउँसो ४ बजेपछि सञ्चालनमा गर्न पूर्ण रोक लगाइएको छ । भारी वर्षाको सम्भावना कायमै रहँदासम्म कास्की जिल्लाअन्तर्गतका सम्पूर्ण पदयात्रा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको छ । हाल पदयात्रामा रहेका पर्यटकहरूलाई सुरक्षित स्थानमा फिर्ता बोलाउन ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान), नेपाल पर्यटन बोर्ड, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना लगायतलाई निर्देशन दिइएको छ ।जिल्लामा बन्जी जम्प, प्याराग्लाइडिङ, कायाकिङ, जिपलाइन जस्ता साहसिक खेलहरू तथा पोखराका फेवाताल र बेगनासतालमा सञ्चालन हुने डुङ्गा, सर्फिङलगायतका जल पर्यटनका गतिविधिहरू पनि पूर्ण रूपमा बन्द गर्न निर्देशन दिइएको छ ।

    स्थानीय तहहरूले आफ्नो क्षेत्रभित्रका जोखिमयुक्त नदी तटीय बस्तीहरूमा पूर्वसूचना प्रवाह गर्ने, सुरक्षित स्थान पहिचान गरी स्थानान्तरणको तयारी गर्ने तथा आवश्यक परेमा विद्यालयहरू बन्द गर्ने अधिकार दिइएको छ । स्थानीय तहका आपत्कालीन कार्यसञ्चालन केन्द्र र डोजर, जेसिभी लगायतका उपकरणहरू तयारी अवस्थामा राख्न भनिएको छ ।तत्काल परिचालन हुनका लागि जिल्लास्थित अस्पताल, एम्बुलेन्स, शववाहन तथा स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा राखिएको गुरुङले जानकारी दिए । आपत्कालीन उद्धारका लागि हेलिकप्टरलाई समेत तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको उनको भनाइ छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विपद् खोज तथा उद्धार टोलीहरूलाई तयारी अवस्थामा राखिएको छ ।प्रशासनले आम नागरिकलाई पनि आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । वर्षाको अवधिभर माछा मार्न, पौडी खेल्न, नुहाउन, लुगा धुन, वस्तुभाउ चराउन वा गिटी–बालुवा निकाल्न खोला तथा नदी किनारमा नजान कडा आग्रह गरिएको छ । अभिभावकहरूलाई बालबालिकाको विशेष निगरानी गर्न तथा अत्यावश्यक कामबाहेक लामो तथा छोटो दूरीको यात्रा नगर्न अनुरोध गरिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend