images

२०८३ आश्विन १५ गते

images
images
images

हतुवागढी गाउँपालिकामा प्रविधिमैत्री तरकारीखेती

हतुवागढी गाउँपालिकामा प्रविधिमैत्री तरकारीखेती

images
images
बुधवार, आश्विन ७ २०८३
बुधवार, आश्विन ७ २०८३
  • भोजपुर । भोजपुरको दक्षिण क्षेत्रमा अवस्थित हतुवागढी गाउँपालिकाले स्थानीय किसानको आयआर्जन बढाउँदै उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ प्रविधिमैत्री तरकारीखेतीमा जोड दिएको छ। परम्परागत तथा निर्वाहमुखी खेती प्रणालीलाई विस्थापित गर्दै आधुनिक प्रविधि, नयाँ ज्ञान र व्यावसायिकतातर्फ किसानलाई आकर्षित गर्न गाउँपालिकाले अनुदान र प्राविधिक सहयोगका कार्यक्रम निरन्तर सञ्चालनमा ल्याएको हो।गाउँपालिकाले कृषि क्षेत्रको चौतर्फी विकास र स्थानीय किसानको जीवनस्तर सुधारका लागि विशेष ध्यान दिँदै अघिल्लो आर्थिक वर्षमा रु पाँच लाख बजेट विनियोजन गरेर ६२ वटा प्लास्टिक टनेल निर्माणमा किसानलाई अनुदान सहयोग उपलब्ध गराएको थियो। मौसमी तथा बेमौसमी तरकारीखेतीका लागि प्लास्टिक टनेल निकै उपयोगी र प्रभावकारी हुने भएकाले किसानकै माग र आवश्यकताका आधारमा सहयोग उपलब्ध गराइएको कृषि विकास शाखा प्रमुख ज्योति देवानले बताए।

    images
    images

    त्यसैगरी, तरकारीखेतीका लागि सिँचाइ सुविधालाई सहज, दिगो र व्यवस्थित बनाउन गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा रु चार लाख बजेट विनियोजन गरी १७ वटा प्लास्टिक पोखरी निर्माण गरेको शाखा प्रमुख देवानले जानकारी दिए। यो आधुनिक प्रविधिबाट वर्षाको पानी सङ्कलन गरी सुक्खा याममा समेत सहज रूपमा सिँचाइ गर्न सकिने भएकाले किसानलाई बाह्रैमास तरकारीखेती गर्न राहत मिलेको छ।चालु आवमा पनि गाउँपालिकाले किसानलक्षित कार्यक्रमलाई थप प्रभावकारी र व्यापक रूपमा निरन्तरता दिने भएको छ। यस आवमा प्लास्टिक टनेल निर्माणका लागि रु पाँच लाख र प्लास्टिक पोखरी निर्माणका लागि रु पाँच लाख गरी कुल रु १० लाख बजेट विनियोजन गरिएको छ। विनियोजित बजेटमार्फत गाउँपालिकाभित्रका थप किसानलाई आधुनिक र प्रविधिमैत्री तरकारीखेतीमा जोड्ने कार्यक्रम सञ्चालन हुने कृषि विकास शाखाले जनाएको छ।

    कृषि क्षेत्रमा विनियोजन गरिएको बजेट वास्तविक तथा मिहिनेत गर्ने किसानसम्म पुर्‍याउन अनुगमन तथा कार्यान्वयनको पाटोमा कडाइ गरिएको गाउँपालिकाले जनाएको छ। किसानको व्यावसायिक योजनाका आधारमा मात्र अनुदान सहयोग वितरण गरिँदै आएको छ।बजेटको दुरुपयोग रोक्नका लागि किसानले प्लास्टिक टनेलका लागि आवश्यक पर्ने बाँसको संरचना वा घर र प्लास्टिक पोखरीका लागि खाल्डो आफैँ खनेर तयार गरेपछि मात्र अनुदान उपलब्ध गराउने गरिएको शाखा प्रमुख देवानले बताए। किसान स्वयंको श्रम र लगानी सहभागी भएपछि मात्र अनुदान रकम निकासा हुने भएकाले यो कार्यक्रम थप दिगो, प्रभावकारी र फलदायी बन्ने गाउँपालिकाको भनाइ छ।गाउँपालिकाबाट आवश्यक अनुदान, प्राविधिक परामर्श र सिँचाइ पूर्वाधार सहयोग प्राप्त भएपछि स्थानीय किसान व्यावसायिक तरकारीखेतीतर्फ उत्साहित भएका छन्। प्लास्टिक टनेलमा बेमौसमी तरकारी उत्पादन गरी स्थानीय तथा बाह्य बजारमा बिक्रीवितरण गर्न सहज भएको हतुवागढी–६ का स्थानीय किसान जगत राईले बताए। किसानलाई तरकारीखेतीका लागि गाउँपालिकाले सञ्चालन गरिरहेको काम प्रभावकारी रहेको र यस अभियानले युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्दै स्वदेशमै स्वरोजगार बनाउन सहयोग पुर्‍याउने धारणा उनले व्यक्त गरे।

    images
    images

    स्थानीयस्तरमै रोजगारीका नयाँ अवसर सृजना गर्दै गाउँपालिकालाई तरकारी उत्पादनका क्षेत्रमा पूर्ण रूपमा आत्मनिर्भर बनाउन कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए। प्लास्टिक टनेल र सिँचाइ पोखरी बनेपछि किसानले सहज रूपमा तरकारी उत्पादन गर्न सक्ने उल्लेख गर्दै उनले भने, ‘गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउँदै किसानको आर्थिक अवस्था सबल बनाउनु नै हाम्रो मुख्य प्राथमिकता र दायित्व हो।’पुराना र परम्परागत शैलीबाट खेती गर्दा धेरै श्रम र समय लागे पनि सोचेजस्तो प्रतिफल प्राप्त नहुने भएकाले आधुनिक प्रविधिमा आधारित व्यावसायिक तरकारीखेतीमा विशेष जोड दिइएको अध्यक्ष राईको भनाइ छ। आगामी दिनमा पनि किसानको आवश्यकता र बजारको मागका आधारमा अनुदान, प्राविधिक तालिम, बीउबिजन र आधुनिक औजार हस्तान्तरणका कार्यक्रमलाई अझ सशक्त र प्रभावकारी बनाउने लक्ष्य रहेको जानकारी उनले दिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend