काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी पाँच दिन देशका प्रमुख नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरेको छ। हाल प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहे पनि आगामी दिनमा वर्षाका कारण नदीहरूमा जलसतह बढ्ने र आकस्मिक बाढीको जोखिम रहने महाशाखाले जनाएको हो।महाशाखाले आज बिहान जारी गरेको विशेष बाढी पूर्वानुमान बुलेटिनअनुसार हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा बहाव सतर्कता तहभन्दा उल्लेख्य तल रहेको छ। कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको अवस्था पनि सामान्य नै छ।
आज यी सबै नदीहरूमा पानीको बहाव सामान्य मात्र बढ्नेछ। तर भोलि असोज ८ गतेदेखि कोशी, कन्काई र कमला नदीमा जलसतह उल्लेख्य रूपमा बढ्नेछ। यसैगरी असोज ९, १० र ११ गते देशभरका प्रायः सबै प्रमुख नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने बुलेटिनमा उल्लेख छ।ठुला नदीमा तत्काल ठुलो जोखिम नरहे पनि आज देशका विभिन्न ३१ जिल्ला भई बग्ने स-साना नदीहरूमा भने आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, मोरङ, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, धनकुटा, भोजपुर र खोटाङमा जोखिम रहेको छ। बागमती प्रदेशका दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ उपत्यका, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ र चितवनका स-साना नदीमा जलसतह बढ्नेछ। त्यस्तै गण्डकी प्रदेशका गोरखा, तनहुँ, कास्की, लमजुङ र नवलपरासी पूर्व तथा कोशी प्रदेशको उदयपुर आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्नेछ।
स-साना नदीहरूमा आउन सक्ने बाढीबारे जानकारी दिँदै महाशाखाले आफ्नो बुलेटिनमा भनेको छ, ‘आज मध्य र पूर्वी नेपालका विभिन्न जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।’महाशाखाका अनुसार भोलि असोज ८ गते कोशी, बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेश भई बग्ने केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्नेछ। पर्सि असोज ९ गते भने देशका सातै प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक बढ्न सक्ने पूर्वानुमान गरिएको छ। नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई मौसम र बाढीको अवस्था हेरी सुरक्षित रहन सुझाव दिइएको छ।





.gif)





