काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।
विभागका अनुसार उक्त अवधिमा केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने तथा एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको छ।
भारी वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्नुका साथै बाढी, पहिरो र गेग्रान बहावको जोखिम बढ्न सक्ने विभागले जनाएको छ। त्यस्तै, शहरी तथा तराई क्षेत्रका विभिन्न स्थानमा डुबानको जोखिमसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित निकाय तथा स्थानीय प्रशासनलाई आवश्यक पूर्वतयारी गर्न र सम्भावित जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउन अनुरोध गरिएको छ।
विभागले बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। साथै, अत्यधिक वर्षाका समयमा खोला तथा नदी किनार, भिरालो जमिन र जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा सम्भावित विपद्बाट जोगिन आवश्यक सुरक्षा उपाय अपनाउन सुझाव दिइएको छ।
शहरी तथा तराई क्षेत्रमा डुबानको सम्भावना रहेकाले स्थानीय तह तथा सम्बन्धित निकायलाई पानी निकासको उचित व्यवस्थापन, जोखिमयुक्त बस्तीको पहिचान र आवश्यक पूर्वतयारी गर्नसमेत आग्रह गरिएको छ।
मौसममा हुने परिवर्तन तथा विभागबाट जारी हुने नियमित मौसम पूर्वानुमान र चेतावनीसम्बन्धी सूचना हेरी सोहीअनुसार आवश्यक सावधानी अपनाउन विभागले सबैमा अनुरोध गरेको छ।





.gif)





