images

२०८३ आश्विन १५ गते

images
images
images

दुई महिनामा ११ अर्ब विदेशी लगानी प्रतिबद्धता,भदौ महिनामा मात्रै ६ अर्ब ३५ करोडको प्रतिबद्धता

दुई महिनामा ११ अर्ब विदेशी लगानी प्रतिबद्धता,भदौ महिनामा मात्रै ६ अर्ब ३५ करोडको प्रतिबद्धता

images
images
आइतवार, आश्विन ४ २०८३
आइतवार, आश्विन ४ २०८३
  • काठमाडौँ । चालू आर्थिक वर्ष २०८३/८४ को दुई महिनाको अवधिमा ११ अर्ब भन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । चालु आवको साउन र भदौ महिनामा नेपालमा ११ अर्ब १२ करोड ४४ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो । उद्योग विभागले सार्वजनिक गरेको भदौ महिनाको मासिक प्रतिवेदन अनुसार यस अवधिमा कुल ३२८ वटा उद्योगमार्फत उक्त लगानी प्रतिबद्धता आएको छ । विभागको तथ्यांक अनुसार प्रस्तावित यी उद्योगहरू सञ्चालनमा आउँदा कुल ३ हजार ४४७ जनाले प्रत्यक्ष रोजगारी सिर्जना हुने छ । गत आर्थिक वर्षको तुलनामा विदेशी लगानीकर्ताहरूको आकर्षण स्वचालित मार्ग तर्फ उल्लेख्य देखिएको छ । कुल ३२८ उद्योगमध्ये ३२२ वटा उद्योग स्वचालित मार्गबाट स्वीकृत भएका हुन्, जसबाट ९ अर्ब ७४ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । बाँकी ६ वटा उद्योग परम्परागत स्वीकृत मार्ग बाट आएका हुन् । यसबाट१ अर्ब ३७ करोड ९४ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । 

    images
    images

    रकमका पर्यटन र संख्यामा सूचना प्रविधि अघि 

    रकमका आधारमा विदेशी लगानीकर्ताहरूको पहिलो रोजाइ पर्यटन क्षेत्र बनेको छ भने उद्योग दर्ता संख्याका आधारमा सूचना प्रविधि (आईसीटी) क्षेत्रले बाजी मारेको छ । दुई महिनामा कुल प्रतिबद्धता रकममध्ये सबैभन्दा बढी ३४ प्रतिशत अर्थात् ३ अर्ब ७४ करोड २८ लाख ५० हजार रुपैयाँ पर्यटन मूलक क्षेत्रका ७० वटा उद्योगमा आएको छ । यस्तै, दोस्रो स्थानमा रहेको सेवामूलक क्षेत्रका २६ वटा उद्योगका लागि ३ अर्ब ३० करोड ५४ लाख रुपैयाँ (३० प्रतिशत) लगानी प्रतिबद्धता आएको छ ।यसैगरी ऊर्जामूलक क्षेत्रको १ वटा परियोजनामार्फत २ अर्ब रुपैयाँ (१८ प्रतिशत), उत्पादनमूलक क्षेत्रका १८ वटा उद्योगमार्फत १ अर्ब २३ करोड ९२ लाख रुपैयाँ (११ प्रतिशत) र कृषिमूलक क्षेत्रको १ उद्योगका लागि २ करोड रुपैयाँ प्रतिबद्धता आएको छ । संख्याको हिसाबले भने कुल स्वीकृत उद्योगमध्ये ६५ प्रतिशत अर्थात् २१२ वटा उद्योग सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रका छन् । जसले ८१ करोड ६९ लाख १७ हजार रुपैयाँ (७ प्रतिशत) बराबरको लगानी भित्र्याउने प्रस्ताव गरेका छन् । 

    images
    images

    भदौ महिनामा मात्रै ६ अर्ब ३५ करोडको प्रतिबद्धता

    चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै विदेशी लगानीकर्ताहरूले १३६ वटा उद्योगमा ६ अर्ब ३५ करोड १५ लाख २१ हजार रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । यी उद्योगहरूबाट ९८३ जनालाई रोजगारी दिने प्रस्ताव गरिएको छ। भदौमा स्वीकृत भएकामध्ये १३५ वटा उद्योग स्वचालित मार्गबाट र १ वटा उद्योग विभागको स्वीकृत मार्गमार्फत दर्ता भएका हुन् । यसबाहेक दुई महिनाको अवधिमा सेयर खरिद सम्झौता तथा सेयर सदस्यता सम्झौता मार्फत १२ वटा परियोजनामा थप ८२ करोड ३२ लाख रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । जसमध्ये भदौ महिनामा मात्रै ५६ करोड ९२ लाख रुपैयाँ बराबरका ९ वटा सम्झौता स्वीकृत भएका छन् । यस्तै, प्रविधि हस्तान्तरण सम्झौता तर्फ भदौ महिनासम्म ८ वटा सम्झौता स्वीकृत भएका छन् ।

    आकारका आधारमा विदेशी लगानीको वर्गीकरण हेर्दा साना उद्योगमै लगानीकर्ताहरूको अत्यधिक आकर्षण देखिएको छ। चालू आर्थिक वर्षको दुई महिनामा स्वीकृत कुल ३२८ उद्योगमध्ये ३२३ वटा साना उद्योग रहेका छन्। यस अवधिमा मझौला उद्योग २ वटा र ठूला उद्योग ३ वटा मात्र दर्ता भएका छन्। भदौ महिनामा दर्ता भएका कुल १३६ उद्योगमध्ये १३४ वटा साना र २ वटा ठूला उद्योग रहेका छन् भने मझौला उद्योग दर्ता शून्य रहेको छ ।उद्योग विभागको प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको दुई महिनामा विदेशी कम्पनीहरूले लाभांश, रोयल्टी र सेवा शुल्कबापत उल्लेख्य रकम फिर्ता लगेका छन् । यस अवधिमा रोयल्टीबापत ६२ करोड २० लाख १४ हजार नेपाली रुपैयाँ, ७ लाख ९१ हजार ७१७ अमेरिकी डलर र ३९ लाख ७३ हजार ७६६ भारतीय रुपैयाँ बाहिरिएको छ । यस्तै, विभिन्न सेवा शुल्कबापत २ करोड ३१ लाख नेपाली रुपैयाँ, २१ हजार ८३८ अमेरिकी डलर, १ करोड ९९ लाख भारतीय रुपैयाँ र ५७ लाख ३९ हजार अस्ट्रेलियन डलर फिर्ता लगिएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend