काठमाडौँ । नेपाल बैंक लिमिटेडको नाफामा उच्च वृद्धि देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२÷८३ मा वित्तीय विवरण अनुसार नाफामा सुधार देखिएको हो । बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ४६.२० प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा ३ अर्ब ७ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा खुद ब्याज आम्दानीमा भने सामान्य गिरावट आएको छ । अघिल्लो वर्ष १० अर्ब १३ करोड रुपैयाँभन्दा बढी रहेको खुद ब्याज आम्दानी समीक्षा अवधिमा १० अर्ब ३ करोड रुपैयाँमा सीमित भएको छ । जुन १.०४ प्रतिशतले कम हो ।
ब्याज आम्दानीमा सामान्य दबाब देखिए पनि बैंकले सञ्चालनतर्फ उल्लेखनीय सुधार गरेको छ । समीक्षा अवधिमा खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब २ करोड रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी बढेर १२ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । सञ्चालन नाफा अघिल्लो वर्षको ४ अर्ब ४४ करोड रुपैयाँबाट बढेर ७ अर्ब १९ करोड रुपैयाँभन्दा माथि पुगेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी पुगेको छ । यसका आधारमा बैंकको लाभांश वितरण क्षमता १५.८४ प्रतिशत पुगेको देखिन्छ । १४ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २५ अर्ब २५ करोड रुपैयाँभन्दा बढी सञ्चित रहेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २० रुपैयाँ ९५ पैसाबाट बढेर ३० रुपैयाँ ६३ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २८७ रुपैयाँ ७० पैसा र मूल्य–आम्दानी अनुपात (पीई रेसियो) ८.५४ गुणा रहेको छ ।




.gif)



