काठमाडौँ । एनआईसी एशिया बैंकले एक वर्षको अवधिमा नै नाफामा फर्किन सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा घाटामा रहेको बैंकले गत आर्थिक वर्षमा नाफामा पुगेको हो । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले १८ करोड १७ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा बैंक ३ अर्ब ८७ करोड २० लाख ४२ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो । अघिल्लो वर्ष ९ अर्ब ७१ करोड ३८ लाख ६७ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज घटेर गत आर्थिक वर्ष २ अर्ब ९१ करोड ७६ लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ । यद्यपि बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । अघिल्लो वर्ष १० अर्ब १३ करोड ५ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत वर्ष ७ अर्ब ८४ करोड ५० लाख रुपैयाँमा झरेको छ । तर, इम्पेयरमेन्ट चार्जमा आएको ठूलो कमीका कारण ब्याज आम्दानी घट्दा पनि बैंकले नाफा कमाउन सफल भएको हो ।
यसैबीच, बैंकको खुद शुल्क तथा कमिशन आम्दानी भने वृद्धि भएको छ । अघिल्लो वर्ष १ अर्ब २१ करोड ७ लाख रुपैयाँ रहेको यस्तो आम्दानी बढेर १ अर्ब ४२ करोड १६ लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफामा पनि उल्लेख्य सुधार देखिएको छ । अघिल्लो वर्ष ४ अर्ब ५१ करोड ३ लाख रुपैयाँ ऋणात्मक रहेको सञ्चालन नाफा गत वर्ष ९७ करोड ९१ लाख ८ हजार रुपैयाँ सकारात्मक बनेको छ ।यद्यपि बैंकको वितरणयोग्य नाफा अझै ऋणात्मक अवस्थामै रहेको छ । समीक्षा अवधिसम्म वितरणयोग्य नाफा १४ अर्ब ८६ करोड ५० लाख २३ हजार रुपैयाँ ऋणात्मक रहेको बैंकले जनाएको छ । १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २५ अर्ब ६५ करोड ३० लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १ रुपैयाँ २२ पैसा र प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ३२ पैसा रहेको छ ।




.gif)



