काठमाडौं, २८ साउन । सरकारले दुर्गम जिल्लाका विभिन्न क्षेत्रमा नागरिकको खाद्य अधिकार सुनिश्चित गर्न नियमित रूपमा खाद्यान्न आपूर्ति गर्दै आएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बताएकी छन्।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गौरी कुमारीले दुर्गम तथा खाद्य अभाव हुन सक्ने क्षेत्रमा नियमित खाद्यान्न उपलब्ध गराउँदै आएको जानकारी दिइन्। उनले नागरिकको खाद्य अधिकार र खाद्य सम्प्रभुताको हक सुनिश्चित गर्नु सरकारको प्रमुख दायित्व भएको बताइन्।
मन्त्रीले दुर्गम क्षेत्रमा खाद्यान्नको सहज उपलब्धता सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायले निरन्तर काम गरिरहेको उल्लेख गरिन्। खाद्य आपूर्ति प्रणालीलाई थप प्रभावकारी बनाउँदै नागरिकलाई आवश्यक खाद्य सामग्री सहज रूपमा उपलब्ध गराउनुपर्नेमा उनले जोड दिइन्।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको व्यवस्थापनमा रहेका कमीकमजोरी सुधार गर्दै सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउन निर्देशन दिए।
त्यस्तै, विश्व खाद्य कार्यक्रमका कन्ट्री डाइरेक्टर रियाज लोदीले नेपालमा पोषणसम्बन्धी कार्यक्रम सरकारसँगको सहकार्यमा सञ्चालन गर्दै आएको जानकारी दिए। उनले खाद्य तथा पोषण सुरक्षाका क्षेत्रमा सरकारी निकायसँग सहकार्यलाई निरन्तरता दिने बताए।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका निमित्त कार्यकारी निर्देशक डिल्लीराज लम्सालले कम्पनीले पछिल्लो समय आफ्नो सेवा तथा व्यवस्थापन प्रणालीमा विभिन्न सुधारका काम अघि बढाइरहेको दाबी गरे।
उनले खाद्य आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउँदै दुर्गम क्षेत्रका नागरिकसम्म आवश्यक खाद्यान्न सहज रूपमा पुर्याउने तथा कम्पनीको सेवा प्रभावकारी बनाउने प्रयास भइरहेको बताए।




.gif)





