काठमाडौँ। सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। पदीय मर्यादाविपरीत कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा उनको २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेपछि अख्तियारले बुधबार आरोपपत्र दायर गरेको हो।अख्तियारले इन्जिनियर चौधरी सेवामा प्रवेश गरेको मिति २०६५ पुस ११ गतेदेखि २०८२ असार २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी अध्ययन गरेको थियो। उक्त अवधिमा चौधरी र उनको परिवारको वैध आम्दानी २ करोड ७२ लाख ५५ हजार ७६६ रुपैयाँ ६ पैसा मात्र देखिएको छ। यस वैध आयमा पारिश्रमिक, जग्गा बिक्री, श्रीमतीको तलब, बैंक कर्जा, घरबहाल आय, बैंक ब्याज, बुबाको पेन्सन र कृषि आयलगायतका स्रोतहरू समावेश थिए।
यद्यपि, सोही अवधिमा उनको कुल खर्च तथा लगानी भने ४ करोड ९८ लाख ६८ हजार ८८९ रुपैयाँ ४२ पैसा पुगेको भेटिएको छ। अनुसन्धानका क्रममा उनीहरूले जग्गा, घर, सवारी साधन, ट्र्याक्टर, सुन, फर्निचर र सेयर खरिदका साथै छोराछोरीको पढाइ, बिमा शुल्क र बैङ्किङ खर्चमा ठूलो रकम खर्च गरेको देखिएको छ।कुल वैध आय र व्ययको तुलना गर्दा आम्दानीभन्दा खर्च र लगानी २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६ पैसा बढी देखिएको छ। यो अस्वाभाविक र अमिल्दो रकम उनले सार्वजनिक पदमा छँदा गैरकानुनी रूपमा आर्जन गरेको अख्तियारको ठहर छ।गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति परिवारका सदस्यका नाममा समेत राखिएको भेटिएकाले अख्तियारले इन्जिनियर शैलेन्द्र कुमार चौधरी र उनकी श्रीमती अर्पना कुमारी दुवैलाई प्रतिवादी बनाएको छ। उनीहरूमाथि बिगो असुल गरी कानुनबमोजिम कडा सजायको मागदाबी गर्दै आरोपपत्र दायर गरिएको जानकारी अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले दिएका छन्।





.gif)



