काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित श्री बाल विनायक आधारभूत विद्यालयलाई एक थान ल्यापटप र तीन थान डेस्कटप कम्प्युटर प्रदान गरेको छ।
विद्यार्थीहरूको पठनपाठनलाई प्रविधिमैत्री बनाउने तथा विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको बैंकले जनाएको छ। सहयोग सामग्री २०८३ असार २२ गते आयोजित विशेष कार्यक्रममार्फत हस्तान्तरण गरिएको हो।
कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रञ्जन खड्का तथा काठमाडौं पूर्व सर्कल हेड गणेश पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सूर्यविनायक नगरपालिका–२ का वडा अध्यक्ष जनार्दन खड्का र प्रधानाध्यापक सविना राजभण्डारीलाई संयुक्त रूपमा कम्प्युटर सामग्री हस्तान्तरण गरेका थिए।
हाल १७० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा आयोजित कार्यक्रममा शिक्षक, विद्यार्थी तथा बैंकका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैंकका अनुसार उपलब्ध गराइएको ल्यापटप र डेस्कटप कम्प्युटरले विद्यार्थीहरूको पठनपाठनलाई थप प्रभावकारी बनाउन, सूचना प्रविधिमा पहुँच विस्तार गर्न तथा विद्यालयमा आधुनिक र गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।




.gif)





