काठमाडौं । लगातार सात कारोबार दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार भने उल्लेख्य सुधारसहित उकालो लागेको छ। यस दिन नेप्से ४४.५९ अंकले बढेर २६५२.९३ विन्दुमा पुगेको छ।
बजारसँगै सेन्सेटिभ इन्डेक्स ५.७७ अंक, फ्लोट इन्डेक्स २.८२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.०४ अंकले वृद्धि भएका छन्।
कारोबार रकममा पनि सुधार देखिएको छ। अघिल्लो दिनको ३ अर्ब २५ करोड रुपैयाँको कारोबार बढेर बुधबार ३ अर्ब ८६ करोड ११ लाख रुपैयाँभन्दा बढी पुगेको छ। यस दिन ३६२ कम्पनीका ९५ लाख ४७ हजार कित्ता शेयर ५६ हजार ८५० पटक कारोबार भएका छन्।
बजारमा स्नो रिभर्स लिमिटेडको शेयर सकारात्मक सर्किट लाग्दै प्रतिकित्ता ५२२.३० रुपैयाँमा पुगेको छ। सिवाईसी लघुवित्त र भुजुङ हाइड्रोपावरको शेयर मूल्य पनि १४ प्रतिशतभन्दा बढीले बढेको छ। विपरीत, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ५.२१ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक अग्रस्थानमा रहँदै २८ करोड ८४ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको छ। त्यसपछि रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट उच्च कारोबार हुने कम्पनीमा परेका छन्।
बुधबार १३ वटै उपसमूह हरियाली बनेका छन्। सबैभन्दा बढी व्यापार उपसमूह २.६० प्रतिशतले बढेको छ भने जलविद्युत, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहमा २ प्रतिशतभन्दा बढीको वृद्धि भएको छ। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त र अन्य उपसमूह पनि एक प्रतिशतभन्दा बढीले उकालो लागेका छन्।




.gif)





