काठमाडौं । नेपाली कांग्रेसका नेता डा.सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। शर्माले बदलिँदो राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई जनतासँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको बताएका छन्। उनले पार्टीलाई दूरदराजका नागरिकसम्म पुर्याउँदै सामान्य नागरिकका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेको बताए।
शर्माले राज्यलाई जनतासँग तथा जनताको आवाजलाई पार्टीको नीति र निर्णयसँग जोड्दै समयले मागेको राजनीतिक रूपान्तरणलाई संस्थागत गर्ने संकल्पसहित महामन्त्रीमा उम्मेदवारी दिन लागेको बताएका छन्।
उनले भने, “राज्यलाई जनतासँग, जनताको आवाजलाई पार्टीको नीति र निर्णयसँग जोड्दै समयले मागेको रुपान्तरणलाई संस्थागत गर्ने संकल्पसहित नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा प्रतिस्पर्धा गर्दैछु।”
लोकतन्त्र पुनर्स्थापनाका लागि विगतमा नेपाल, भारत र अमेरिकासम्म विभिन्न तहमा राजनीतिक गतिविधि तथा ‘लविङ’ गरेको स्मरण गर्दै शर्माले नेपाली कांग्रेससँग आफ्नो लामो राजनीतिक सम्बन्ध रहेको बताए।
सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले आफू विराटनगर र मोरङको राजनीतिक पृष्ठभूमिसँग जोडिएको उल्लेख गरे। “हामी बीपी कोइराला, गिरिजाबाबुको क्षेत्रबाट सहभागी छौँ, हामी विराटनगरवासी, मोरङबासीहरूले त्यसमा गर्व पनि गर्छौं,” उनले भने।
शर्माले बदलिँदो परिस्थितिमा कांग्रेसलाई जनतासँग प्रत्यक्ष रूपमा जोड्नुपर्ने आवश्यकता रहेको बताए। उनका अनुसार दूरदराजमा रहेका नागरिकका पक्षमा काम गर्नु, दुई छाक खानका लागि संघर्ष गरिरहेका नागरिकका समस्या सम्बोधन गर्नु तथा सामान्य रोगको उपचारबाट समेत वञ्चित नागरिकको पक्षमा काम गर्नु आफ्नो राजनीतिक अभियानको प्राथमिकता हो।
महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै शर्माले कांग्रेसको संगठनलाई जनतासँग थप नजिक बनाउने र नागरिकका दैनिक जीवनसँग जोडिएका विषयलाई पार्टीको नीति तथा निर्णय प्रक्रियामा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।




.gif)





