काठमाडौँ ।चालु आर्थिक वर्षको साढे दुई महिना बितिसक्दा नेप्सेमा सूचीकृत विभिन्न क्षेत्रका कम्पनीहरूमा वार्षिक साधारण सभा (एजीएम) को सिजन सुरु भएको छ। सूचीकृत वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, जलविद्युत् तथा लघुवित्त कम्पनीहरूले धमाधम साधारण सभा आह्वान गरिरहेका छन्। यी सभाहरूमा मुख्यगरी अघिल्लो वर्षको वित्तीय विवरण पारित गर्ने, सेयरधनीहरूलाई लाभांश वितरण गर्ने र कम्पनीको पुँजी वृद्धि गर्नेसम्बन्धी महत्त्वपूर्ण प्रस्तावहरू पेस गरिएका छन्।वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र जलविद्युत् क्षेत्रका सूचीकृत कम्पनीहरूले आफ्ना साधारण सभा सम्पन्न गर्दै लाभांश र पुँजी वृद्धिका महत्त्वपूर्ण प्रस्तावहरू पारित गरेका छन्।
वाणिज्य बैंकतर्फ एभरेस्ट बैंक ले ३२ औँ साधारण सभाबाट ५ प्रतिशत बोनस सेयर, १० प्रतिशत नगद लाभांशका साथै पुँजी वृद्धि र प्रबन्धपत्र-नियमावली संशोधनको निर्णय पास गरेको छ। त्यस्तै, सानिमा बैंक को २२ औँ साधारण सभाले १० प्रतिशत नगद लाभांश वितरण गर्ने र आफ्ना सहायक कम्पनीहरू (सानिमा क्यापिटल र सानिमा सेक्युरिटिज) को एकीकृत प्रतिवेदन स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ। विकास बैंक र फाइनान्सतर्फ कामना सेवा विकास बैंक ले २० औँ साधारण सभाबाट १५ प्रतिशत नगद (अग्राधिकार सेयरमा ९ प्रतिशत) लाभांश पारित गरेको छ। यता आइसीएफसी फाइनान्स को २३ औँ साधारण सभाले १०.५२ प्रतिशत नगद लाभांश, वित्तीय विवरण र नियमावली संशोधनको एजेन्डा अनुमोदन गरेको छ।
जलविद्युत् क्षेत्रमा सुपर मादी हाइड्रोपावर ले १७ औँ साधारण सभाबाट १५ प्रतिशत बोनस र ०.७८९४७ प्रतिशत नगद लाभांश पारित गर्नुका साथै २८५ मेगावाटको माथिल्लो तमोर आयोजनाका लागि १:२ को अनुपातमा हकप्रद सेयर जारी गर्ने र अधिकृत पुँजी बढाउने निर्णय गरेको छ। त्यसैगरी, केवेली हाइड्रोपावर को पाँचौँ साधारण सभाले १६.३१ प्रतिशत नगद लाभांश, एनएमबी बैंकबाट लिइएको कर्जा स्वीकृति र अन्य कम्पनीमा सेयर लगानीका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव स्वीकृत गरेको छ।
माण्डू हाइड्रोपावर लिमिटेडको १४औँ र १५औँ संयुक्त साधारण सभाले १२ प्रतिशत नगद लाभांश, पुँजी वृद्धि, सञ्चालक निर्वाचन र स्वतन्त्र सञ्चालक नियुक्तिको प्रस्ताव अनुमोदन गरेको छ। यसैगरी, मनकामना इन्जिनियरिङ हाइड्रोपावरले वित्तीय प्रतिवेदन र प्रबन्धपत्र-नियमावली संशोधन तथा सानिमा हाइड्रोपावरले वित्तीय विवरण र सञ्चालक निर्वाचन मुख्य एजेन्डाका रूपमा सभाबाट पारित गरेका छन्। अर्कातर्फ, लघुवित्त क्षेत्रमा भने संस्थागत सबलीकरणका लागि मर्जर प्रक्रिया अघि बढेको छ। भदौ १४ गते जीवन विकास, मानुषी र युनिक नेपाल लघुवित्तले एकै दिन विशेष साधारण सभा आयोजना गरी आपसमा गाभ्ने/गाभिने, सम्पत्ति तथा दायित्वको मूल्याङ्कन प्रतिवेदन र सेयर स्वाप रेसियो स्वीकृत गरेका छन्। समग्रमा, बैंक तथा वित्तीय संस्थाहरूमा लाभांश र सञ्चालक चयन, जलविद्युत् कम्पनीहरूमा पुँजी संकलन एवं आयोजना विस्तार, र लघुवित्त क्षेत्रमा मर्जर मुख्य प्राथमिकताका विषय बनेका छन्।




.gif)





