काठमाडौँ । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चिनियाँ ब्रान्ड सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा दुई नयाँ विद्युतीय हेभी–ड्युटी व्यावसायिक सवारीसाधन नेपाली बजारमा सार्वजनिक गरेको छ।कम्पनीले ‘स्याकम्यान X5000e ६×४ इलेक्ट्रिक प्राइम मुभर’ र ‘स्याकम्यान X5000e ६×४ इलेक्ट्रिक टिपर’ नेपालमा औपचारिक रूपमा भित्र्याएको हो। यससँगै स्याकम्यानले नेपालको तीव्र रूपमा विस्तार भइरहेको विद्युतीय व्यावसायिक सवारीसाधनको क्षेत्रमा आधिकारिक प्रवेश गरेको छ।
व्यावसायिक क्षेत्रका चुनौतीपूर्ण आवश्यकताहरूलाई सम्बोधन गर्न ल्याइएको X5000e इलेक्ट्रिक प्राइम मुभर भारी सामान ढुवानी तथा लामो दूरीको यातायातका लागि उपयुक्त रहेको छ भने X5000e इलेक्ट्रिक टिपरलाई निर्माण, खानी तथा अन्य अफ–रोड कार्य सञ्चालनका लागि विशेष डिजाइन गरिएको छ। नेपाली बजारमा स्याकम्यान X5000e ६×४ इलेक्ट्रिक प्राइम मुभरको मूल्य २ करोड ५ लाख रुपैयाँ र X5000e ६×४ इलेक्ट्रिक टिपरको मूल्य २ करोड ३५ लाख रुपैयाँ निर्धारण गरिएको छ।दुवै मोडलमा आधुनिक इलेक्ट्रिक पावरट्रेन र ६×४ ड्राइभट्रेनका साथै फास्ट चार्जिङ क्षमता, रिजेनेरेटिभ ब्रेकिङ तथा इन्टेलिजेन्ट ब्याट्री व्यवस्थापन प्रणाली जस्ता अत्याधुनिक विशेषताहरू समावेश छन्। यी प्रविधिहरूले चुनौतीपूर्ण व्यावसायिक परिस्थितिमा पनि सवारीसाधनको प्रभावकारी र भरपर्दो सञ्चालन सुनिश्चित गर्ने बताइएको छ। साथै, चालकको आराम र सञ्चालन सहजताका लागि गाडीमा एयर–सस्पेन्डेड सिट, मल्टिफङ्सन स्टेयरिङ, एयर कन्डिसनिङ, ठूलो इन्स्ट्रुमेन्ट डिस्प्ले तथा आधुनिक सुरक्षा र नियन्त्रण प्रणालीहरू उपलब्ध गराइएको छ।
सहकार्यबारे शंकर ग्रुपकी निर्देशक दीपा अग्रवालले स्याकम्यानसँगको साझेदारीले नेपालमा अत्याधुनिक विद्युतीय मोबिलिटी समाधानहरू ल्याउने कम्पनीको प्रतिबद्धतालाई स्पष्ट पारेको बताए। त्यस्तै, सान्क्सी अटोमोबाइल होल्डिङ ग्रुपका साउथ एसिया जनरल म्यानेजर स्यान्डर्स लीले नेपाल विद्युतीय हेभी–ड्युटी सवारीसाधनका लागि सम्भावनायुक्त बजार रहेको उल्लेख गर्दै नेपाली ग्राहकलाई भरपर्दो र प्रविधिमैत्री सेवा दिन पाउँदा खुसी व्यक्त गरे।यता जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले यो नयाँ मोडल आफ्नो व्यावसायिक सवारी पोर्टफोलियोमा महत्वपूर्ण थप भएको र यसले नेपालको यातायात, निर्माण तथा औद्योगिक क्षेत्रको बदलिँदो आवश्यकतालाई सम्बोधन गर्ने धारणा राखे । ६० वर्षको लामो इतिहास बोकेको सान्क्सी अटोमोबाइल ग्रुप चीनको प्रमुख हेभी-ड्युटी व्यावसायिक सवारी उत्पादक हो। यस नयाँ आगमनसँगै जगदम्बा मोटर्सले आफ्नो पोर्टफोलियोलाई विद्युतीय हेभी–ड्युटी सेग्मेन्टमा विस्तार गर्दै नेपालको व्यावसायिक यातायात क्षेत्रमा दिगो र वातावरणमैत्री समाधान प्रस्तुत गरेको छ।




.gif)





